काठमाडौं– लिपियाधुरासहितको भूमिलाई समेटेर नेपालले बुधबार आफ्नो नक्सा सार्वजनिक गरेलगत्तै यसले भारतमा हलचल मच्चिएको छ। भारतले सोही दिन साँझ विज्ञप्ति जारी गर्दै नेपालको पछिल्लो कदम अस्वीकार्य रहेको र वार्ताद्वारा विवाद समाधान गर्न तयार रहेको स्पष्ट पारेको छ।
नेपाली भूमि लिपुलेकमा भारतले चीनसँग जोड्ने सडक निर्माण गरिरहेको समाचार सार्वजनिक गरेपछि ६ दशकभन्दा बढी समयदेखि भारतले हडपी रहेको कालापानी र लिपियाधुरासमेत भूभागलाई जोडेर नेपालले नक्सा सार्वजनिक गरेको हो। यी भूभाग आफ्नो रहेको प्रशस्त ऐतिहासिक प्रमाण भएको नेपाली पक्षको दावी छ।
यही विषयमा भारतको एक टेलिभिजनसँग प्रतिपक्षी दलका सांसद तथा पूर्व सञ्चार मन्त्री मिनेन्द्र रिजालले नक्सा सार्वजनिक भएकै दिन साँझ दिएको अन्तर्वार्ता बिहीबार बिहानैदेखि भाइरल बनेको छ।
भारतीय पत्रकार अर्नब गोस्वामीले जुम एपमार्फत गरेको प्यानल अन्तर्वार्ताको ६ मिनेट ३३ सेकेन्डको अंश सामाजिक सन्जालहरुमा भाइरल बनेको छ। यो भिडियोमा चीनको आडमा नेपालले भारतको भुमि हडप्न दुष्प्रयास गरिरहेको पृष्ठभूमि जोडेर गोस्वामीले प्रश्न गर्न थालेपछि सुरुवातदेखि नै रिजाल आक्रामक देखिएका थिए।

https://www.facebook.com/1828150850557308/videos/264999077888245/?t=0

गोस्वामी पृष्ठभूमि जोड्दै रिजालमाथि प्रश्न सुरु गर्नु अगावै हावी हुन खोज्छन् – चीन कसैको पनि साथी हैन। अहिले विश्व समुदायमा एक्लै छ। यो विषयमा तपाईहरु पनि सचेत हुनुहुन्छ। भारतीय भूमीमा तपाईहरुको कुनै इन्ट्रेस्ट छ भने त्यो हास्यास्पद हुन्छ। यदी भारतीय सिमामा कर्के नजर लाउँदै हुनुहुन्छ भने, कहिल्यै पूरा नहुने सपना नदेख्नुस्। म मान्छु, तपाईहरु पनि एउटा महत्वपूर्ण देश हो। लिपुलेक हुँदै अहिले बनिरहेको बाटो भारतका लागि चिनियाँ गतिविधिमाथि नजर राख्ने महत्वपूर्ण प्वाइन्ट हो।
रिजाल बीचमै भन्छन्– मलाई तपाई प्रश्न गर्दै हुनुहुन्छ की सन्देश दिँदै हुनुहुन्छ ?
रिजाललाई रोक्दै गोस्वामी कुरा मोड्न खोज्छन्– भारत लामो समयदेखि चीनमाथि नजर राख्न चाहन्छ। मलाई पूरा हुन दिनुस् पहिला (बोलिरहेका रिजाललाई रोक्दै )। चीनले तपाईहरुलाई चलाइरहेको छ। चीनले तपाईहरुलाई प्रयोग गरिरहेको छ। किनभने यो क्षेत्र लामो समयदेखि भारतका लागि चिनियाँ गतिविधिमाथि नजर राख्ने महत्वपूर्ण प्वाइन्ट बनिरहेको छ। तर चीनको रणनीतिक फाइदाका लागि तपाईहरुले नेपाल-भारत सम्बन्धसँग सम्झौता गर्नु हुँदैन। चीनको विदेश नीतिलाई तपाईले आफ्नो इन्ट्रेस्टका रुपमा प्रयोग गर्नु हुँदैन। अब तपाई बोल्न सक्नुहुन्छ।
रिजाल पुरानै कुरामा जोडिन्छन्– सर्वप्रथम, तपाई जसरी मलाई सोधिरहनु भएको छ, यो कुनै वक्तव्य वा सन्देशजस्तै छ। यसरी नेपालमा टेलिभिजन अन्तर्वार्ता गरिन्न। यदी तपाई यो विषयमा नेपालको अडान के हो ? तथ्यहरु के छन् ? हामी के सोच्दै छौँरु कसरी विवाद समाधान हुन सक्छ भनेर सोध्नुहुन्छ भने यी प्रश्नहरुको जवाफ म दिन सक्छु। म स्पष्टसाथ के भन्न चाहन्छु भने यो सीमा विवादलाई भारत द्विदेशीय र कूटनीतिक सम्वादद्वारा समाधान गर्न प्रतिवद्ध छ। हामीले कुटनीतिक नोट पठाएपछि भारतले कोरोना भाइरसको महामारी सकिएपछि बसेर विवाद समाधान गर्ने बताएको छ। हामी, हामीसँग भएका सबै प्रमाण प्रस्तुत गर्नेछौँ, भारतले पनि आफूसँग भएका प्रमाणहरु प्रस्तुत गर्नेछ। (फेरि गोस्वामीले रोक्न खोजेपछि) मेरो कुरामा तपाई सहमत नहुन सक्नुहुन्छ, तपाईले मैले के गर्नुपर्छ र के भन्नु हुँदैन भनेर भन्ने कुरा होइन।
रिजाल रोकिएपछि गोस्वामी बोल्न थाल्छन्– म नम्रसाथ प्रस्तुत भइरहेको छ (रिजालले तपाई हुनुहुन्न भनेको सुनिन्छ)। नेपालमा कसरी इन्टरभ्यु गरिन्छ मलाई थाहा छैन तर भारतमा कसरी गरिन्छ मलाई थाहा छ।
गोस्वामीले तपाईको देशको प्रधानमन्त्रीले भनेका छन् भनेर अर्को प्रश्न जोड्न खोजेपछि रिजाल पुरानै कुरामा फर्कन्छन् फेरि– यदी हामी एकअर्का देशका नागरिकलाई सम्मान गर्दैनौँ, व्यक्तिगत रुपमा सम्मान गर्दैनौँ भने हामीबीच (अन्तर्वार्तालाई संकेत गर्दै) राम्रो सम्वाद हुन सक्दैन।
गोस्वामीले ‘यहाँ समस्या के छ भने तपाईको प्रधानमन्त्रीले यो भनेका छन्’ भनेपछि उनलाई रोक्दै रिजाल फेरि पुरानै कुरामा जोडिन्छन्- तपाईले यो गर्नुपर्छ यो गर्नु हुँदैन भनेर मलाई नसिकाउनुस्।
गोस्वामी मथ्थर हुँदै कुरा मोड्न खोज्छन्– तपाईको प्रधानमन्त्रीले भारतबाट आएको कोरोना भाइरस, चीनबाट आएको कोरोना भाइरसभन्दा बढी हानिकारक छ। यो कस्तो खालको कमेन्ट हो। किन उनले यसो भने ?
रिजालले अब अलिक शान्त भएर जवाफ दिन्छन्– हामी प्रतिपक्षी छौँ। प्रधानमन्त्रीसँग हाम्रा कैयौँ विषयमा असहमति होलान् । तर सीमा विवादमा हामीसँगै छौँ। सीमा विवादमा प्रधानमन्त्रीले लिएको अडानमा हामी पूर्ण समर्थन गर्छौँ। अब उनले कुनै विषयलाई कसरी प्रस्तुत गर्छन् त्यो उनको स्टाइल हो। विश्वका हरेक नेताहरुको आ(आफ्नै स्टाइल हुन्छ।
रिजालले बोल्दा बोल्दै गोस्वामी फेरि विषयान्तर भएर पुरानै कुरामा जोडिन्छन्– कसरी नेपालका प्रधानमन्त्रीले चीनको कोरोना भाइरसभन्दा भारतको कोरोना भाइरस कडा भन्न सके ?
रिजाल जवाफ दिन्छन्– म कोरोना भाइरसको विज्ञ होइन। म तपाईको प्रश्नको जवाफ दिन सक्दिन। तर सीमा विवादमा प्रधानमन्त्रीले लिएको अडानमा हामी पूर्ण समर्थन गर्छौँ।
गोस्वामी रिजालले बोलिरहेका बेला भन्छन्, सबै भारतीयहरु तपाईहरुलाई भनिरहेका छन्, हामी नेपाललाई मन पराउँछौँ। हामीबीच राम्रो सम्बन्ध छ। नरेन्द्र मोदी नेपाल गएका छन्। अचानक भारतसँग द्वन्द्व गर्नुपर्ने कारण के हो ? (गोस्वामी अर्का वक्तालाई बोल्न समय दिन्छन्। तर रिजालले ती वक्ताले बोल्नुअघि केही कुरा स्पष्ट पार्छन्)
रिजाल भन्छन् – हामी एक अर्कालाई सम्मान गरौँ। म तपाईले यो गर्नुपर्छ भनेर भन्दिन। तपाईले मैले यो गर्नुपर्छ भनेर भन्न सक्नु हुन्न।

तपाईको प्रतिक्रिया