उदयपुर । व्यपार व्यसाय गर्न बैंक तथा वित्तिय संस्थाबाट लिइएको ऋणको व्याज तथा हर्जना मिनाहा गरिदिन हुन उदयपुरका व्यवसायीहरुले माग गरेका छन् । त्रियुगा नगरपालिकाले चालु आर्थिक वर्षमा चैतदेखि असारसम्मको घरबहाल कर, व्यसायी कर तथा अटो, टेम्पो र रिक्सा चालकलाई पार्किङ शुल्क नलिने घोषणा गरेसँगै उदयपुरका व्यपार, व्यवसायी संघ संस्थाले यस्तो प्रतिक्रिया जनाउन थालेका छन् ।

त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाइली

नगरपालिकाले करमा छुटमा दिने निर्णय भएसंगै नगरका उद्योगी व्यापारीहरु खुसी भएका छन । स्थानीय सरकारले जुन हिसावले कर छुट गरेको निर्णय स्वागतयोग्य रहेको अधिकांश व्यवसायीहरु बताउँछन् । व्यवसायीरुले कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको पूर्ण पालना गरिरहेको भन्दै नगरले करमा छुट दिने निर्णयले आफुहरु उत्साहित भएको त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका प्रथम उपाध्यक्ष रमेश रसाइलीले बताए । उनले नगरपालिकालाई धन्यवाद दिँदै घर धनी र बैंक तथा वित्तिय संस्थाले पनि व्याज तथा हर्जनामा छुट पाए उद्योगी व्यवसायीहरु नमर्ने बताए । उनले भने, ‘प्रायः अधिकांश उद्योगी व्यवसायीको एक वा सो भन्दा बढी बैंकसँग जोडिएकै छ, तसर्थ लकडाउन अवधिमा कुनै पनि उद्योगी व्यपार व्यवसाय संचालन नहुने हुँदा उक्त अवधिको बैंकको व्याज मिनाहा गरिदिन पहलकदमीको लागि व्यसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघलाई लेखेर पठाउने छौं ।’
‘बैंक तथा वित्तिय संस्थाहरुले केही वर्षका लागि ब्याजदर घटाउने रणनीति बनाउनु पर्ने, कर्जामा न्यूनतम ब्याजदर लिन, पुनरकर्जाको आकार अझै बढाउनुपर्ने लगायतका बारेमा उद्योग वाणिज्य महासंघलाई अनुरोध गर्ने छौं ।’ उपाध्यक्ष रसाइलीले भने ।
त्रियुगा नगरपालिकाले घोषणा गरे बमोजिम घर बेटीहरुले घर भाडामा छुट दिने वा हैनन यसमा भने प्रश्न उव्जिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं. १ प्रदेश सस्य प्रदिप गिरी

त्रियुगा नगरपालिकाले घोषण गरेको व्यसायी कर र घरबहाल कर छुटले साना तथा मझौला व्यवसायीहरु उत्साहित भएको गिरीबन्धु प्लाष्टिक उद्योगका संचालक तथा नेपाल घरेलु तथा साना व्यवसायी महासंघका प्रदेश नं. १ का प्रदेश सदस्य प्रदिप गिरीले बताए । ‘साना तथा मझौला घरेलु उद्योग दर्ता र नबिकरणमा ५० प्रतिशत कर छुटको निर्णयले हामी व्यवसायी उत्साहित हुनुको साथै नगरले गरेको यो निर्णय स्वागत योग्य रहेको छ ।’ उद्योगी गिरीले भने, ‘घरेलु उद्योग दर्ता तथा नविकरणमा ५० प्रतिशत छुटको घोषणाले साना उद्योगीलाई ठूलो राहत मिलेको छ, सराहनीय, सकारात्मक योग्य र उद्योगीको हितमा नगरपालिका छ भन्ने आशा पलाएको छ ।’
उद्योगी नै मरिसकेपछि बैंक कहाँबाट बाँच्ने भएकोले यस अवधिको ऋणको व्याज नलिईदिई बैंकहरुले उदारता देखाई दिनु पर्ने उद्योगी गिरीले बताए । उनले थपे, ‘हामी साना तथा मझौला उद्योगीले उद्योग संचालनको लागि बैंकहरुसँग लिएको ऋणको व्याज लकडाउन अवधिको नदिईदिन अनुरोध गर्दछु ।’ लकडाउन अवधिको व्याज मिनाहाको विषयमा प्रदेश र केन्द्रमा पनि पहलकदमीको लागि कुरा चलिरहेको उनले बताए । ‘हामीले नै कमाएनौ भने बैंक कहाँबाट चल्ने भएकोले यस अवधिको व्याज नलिई दिए उद्योगी व्यवसायीलाई ठूलो राहत मिल्ने थियो ।’ उनले भने । उद्योग पूर्णरुपमा संचालनमा आएपछि बैंकको किस्ता विस्तारै तिर्नु पर्ने दायित्व उद्योगीको पनि भएको बताए । उनले गुनासो गरे, ‘उद्योग खुलेपनि बेच्ने ठाउँ नभएपछि उद्योगी मारमा परेको हुँदा निर्माणजन्य पसल खुल्ला गरिदिन सरकारसँग माग गर्दछु ।’

युवा व्यवसायी सुनिल ठाकुर

अर्का युवा व्यवसायी कालिका अटो लिंक गाईघाटका म्यानिजिङ डाइरेक्टर सुनिल ठाकुरले नगरपालिकाको निर्णय स्वागतयोग्य छ । नगरले गरेको घोषण पूर्णरुपले पालना होस भन्न चाहान्छु । उनले थपे, ‘व्यवसाय गर्न बैंक तथा वित्तिय संस्थाबाट लिइएको ऋणको व्याज व्यवसाय पूर्णरुपले संचालन नभएसम्मको लागि मिनाहा गरिदिए हामी व्यवसायीहरु बाँच्ने आशा पलाउने थियो ।’ उनले लकडाउन अवधि भरीमा घरधनीले पनि कोठा भाडामा छुट गरिदिए व्यवसायी नमर्ने उनले बताए । बैंकको व्याज र महंगो घरभाडाले नै कति व्यवसायीको जहाज डुब्नेबाला छ । उनले भ्याटको दायरा १० प्रतिशतमा झार्नु पर्ने, व्यक्तिगत आयकर र कर्पाेरेट आयकरमा पनि छुट गर्नु पर्ने बताए । यस विषयमा त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले पहल कदमी लिने पर्ने बताए ।

सिटी सफारी तथा अटो व्यवसायी संघका अध्यक्ष जयप्रसाद आचार्य

यस्तै तीन पाँग्रे सवारी साधन अटो, टेम्पो तथा रिक्सामा लाग्दै आएको पार्किङ शुल्कमा छुटको निर्णयको सिटी सफारी तथा अटो व्यवसायी संघले स्वागत गरेको छ । सिटी तथा अटो व्यवसायी संघका अध्यक्ष जयप्रसाद आचार्यले नगरको निर्णय स्वागत योग्य रहेको बताए । उनले भने, ‘नगरको कर छुट निर्णयले सिटी सफारी, अटो तथा टेम्पो व्यवसायी उत्साहित भएको छ, नगरले साना सवारी साधनको हकमा अत्यन्तै सराहनीय निर्णय गरेको छ ।’ उनले थपे, ‘गाईघाटका अधिकांश सिटी सफारी तथा अटोहरु बैंक तथा फाइनान्सबाट निकालेको छ तसर्थ सवारी साधन नचलेको समयको व्याज तथा हर्जना मिनाहा गरिदिन बैंक तथा वित्तिय संस्थालाई अनुरोध गरेको गर्दछु ।’

तपाईको प्रतिक्रिया