राजेन्द्र महतो, लहान । जिल्लाको सिरहा नगरपालिका २० लगडीगदीयानीमा लकडाउनको अवज्ञा गर्दै नेपाल प्रवेश गर्न खोज्ने भारतीय र सशस्त्र प्रहरी बलबीच झडप भएको छ । नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई फर्काइदिएको भन्दै सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारत महुलियाका मोहनकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यादव भारतीय सीमा सुरक्षा बल ६२७ बटालियन सिलिगुडिमा कार्यरत रहेको खुलेको सिरहा प्रहरीले जनाएको छ । साइकलमा ५ पोका ल्याक्टोजिन दूध बोकेर सोमबार बिहान ११ बजे नेपाल प्रवेश गरेका भारत बिहार महुलियाका राजेन्द्रकुमार यादवलाई सीमामा खटिएका सुरक्षा बलले रोकेर भारत फर्काइदिएको थियो ।
यादव फर्किएको केहीबेरमै महुलियाबाट १८–२० जनाको समूहमा आएका व्यक्तिहरुले नेपाल–भारत सीमाभन्दा दुई सय मिटर वर नेपालतर्फ प्रवेश गरी सीमामा तैनाथ सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेका थिए । भारतीयहरुले प्रहार गरेको ढुंगा लागेर सशस्त्र प्रहरी जवान राजनकुमार चौधरी घाइते भएका छन् । उनको सिरहा अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ गरेका यादव राजेन्द्रकुमारका छोरा हुन् । आफु्नो बाबुलाई नेपाली सुरक्षाकर्मीले फर्काएपछि उनको समुहले नेपालमा छिरेर नेपाली सुरक्षाकर्मीलाई आक्रमण गरेको थियो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईंले घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताएका छन् ।









