काठमाडौं । सरकारले काठमाडौं उपत्यका छाड्न चाहनेहरुलाई छाड्न अनुमति दिने भन्ने विषयमा कुनै निर्णय नभएको प्रष्ट पारेको छ । र, सरकारले भ्रमको पछि नलाग्न पनि आग्रह गरेको छ ।
रक्षा मन्त्रालयलाई उद्धृत गर्दै एकाएक सञ्चार माध्यममा यो विषयमा समाचार सम्प्रेषण भएपछि स्वयं रक्षाले यस विषयमा चासो देखाएको थियो ।
केही मन्त्रीहरुलाई समेत उद्धृत गर्दै ‘भ्रमपूर्ण’ समाचार सम्प्रेषण भएपछि काठमाडौं छाड्ने चाहने ठूलो संख्याका नागरिकहरु माथि उत्साह छाएको थियो । तर समाचार गलत साबित भएपछि उनीहरुमा समेत निराशा छाएको छ ।
तर प्रदेश सरकारहरुले विरोध गरे । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए ।
यो अवस्थामा काठमाडौं उपत्यका छाड्न दिने हो भने काठमाडौंमा रहेका सरकारी र निजी सवारी साधनहरुले थेगिनसक्ने अवस्था आउने पक्का छ । तर गाउँगाउँमा कोरोना भाइरसविरुद्ध अनुशासन बनाएर बसेको समाजमा यो निर्णयले उथलपुथल ल्याउने पक्का थियो ।
सीमामा र विदेशमा हजारौं नेपाली नागरिकलाई रोकेर काठमाडौं उपत्यकाको नागरिकलाई मात्र यो सुविधा दिंदा सरकारको तीब्र आलोचना हुने पक्का थियो । तर सरकारले यस विषयमा तत्काल प्रष्ट पारेर आलोचनाबाट पनि समयमा नै बचेको पनि विज्ञहरुले बताएका छन् ।
यातायात व्यवसायीहरुले पनि शुक्रबार र शनिबार पठाउन सम्भव नभएको बताएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भने, ‘अहिलेलाई यो सम्भव भएन भनेर बुझ्नुपर्यो ।’

तपाईको प्रतिक्रिया