उदयपुर । घरेलु तथा साना उद्योग कार्यालयले साझेदार निकायसंगको सहकार्यमा पेट्रोल पम्पको अनुगमन गरेको छ ।
लकडाउनको अवसरमा पेट्रोल पम्पले तेल नदिने तथा पछिल्लो पटक पेट्रोलियम पदार्थमा घटेको मूल्यमा विक्री वितरण नगरेको गुनासो बढेपछि तीन पम्पमा अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त निर्देशक पाक्रम खाँ चौधरीको नेतृत्वमा गरिएको हो ।
अनुगमनमा एस.के. टे«डर्स पेट्रोल पम्प गाईघाट, रियाज पेट्रोल पम्प गाईघाट र उर्जा फ्युल सेन्टर मोतिगडाको अनुगमन गरेको थियो । उनका अनुसार पेट्रोलियम पदार्थको भाउ समायोजन भएर घटेपनि उर्जा फ्युल सेन्टरले पहिलेकै दाममा तेल विक्री गरेको जानकारी आएपछि अनुगमन गरिएको बताए । पेट्रोल पम्पमा खरिद र विक्री विल नभएको, पेट्रोल पम्पले तेल नदिएको, तेल लगाउने मेशिन चेक जाँच गरौं भन्दा चावी छैन भन्दै टारेको निमित्त निर्देशक चौधरीले बताए । अनुगमनको क्रममा उर्जामा कैफियत भेटेपछि आइतबार विहान ११ बजे जिल्ला प्रशासन कार्यालय उदयपुरमा उपस्थित हुन पत्र काटेको निमित्त निर्देशक चौधरीले बताए ।
अन्य पेट्रोल पम्पको हकमा सवै दुरुस्त रहेको निर्देशक चौधरीले जानकारी दिए ।
अनुगमनमा खाद्य तथा गुणस्तर कार्यालय उदयपुरका निमित्त प्रमुख रमेश दाहाल, त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाइली, नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई, जनता टेलिभिजनका पत्रकार सुखिलाल चौधरी लगायतको उपस्थिति रहेको थियो ।









