उदयपुर / उदयपुरको चौदण्डीगढी नगरपालिका दुई स्थित झोडापाटामा जन्म भएकी रमिला बस्नेत ह्यान्डबल खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत सम्म चर्चित नाम हो ।
बुबा राजेन्द्र बहादुर बस्नेत र आमा तारा बस्नेतको कान्छी छोरीको रुपमा २०५६ सालमा जन्मिएकी सानै उमेरदेखि खेलकुदमा रूचि भएकीले खेलमा रम्दै आएकी हुन् । रमिला बस्नेतले १४ वर्षको उमेरमा नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी हुने नेपालको सबैभन्दा कान्छी खेलाडीमा समेत चर्चित छिन ।
यतिले मात्रै होइन्, अहिले उनले प्रदेश स्तरीय मिस प्रदेश नं. १ अर्थात सुन्दरी प्रतियोगिताको उपाधिको ताज पहिरेपछि अहिले उनी सर्वत्र चर्चामा छिन् ।


प्रतियोगिता पूर्वाञ्चल बागिना कला केन्द्रले आयोजना गरेको मिस प्रदेश २०१८ को प्रतिष्पर्धामा स्पष्ट वक्ता, बोलीमा दम भएकी उनी अन्य प्रतिभा देखाउन पनि खप्पिस बस्नेत १३ प्रतिष्पर्धीलाई उछिन्दै उनी मिस प्रदेश नं. १ को ताज हात पार्न सफल भएकी हुन् । उनले २०१८ को उपाधिसँगै क्राउन, स्टेजमै सुजुकी ब्राण्डको कालो रङ्गको स्कुटर र अवार्ड प्राप्त गरिन् ।
कलिलै उमेरमा अन्तर्राष्ट्रियस्तरको ह्याण्डबल खेलमा सहभागिता जनाएर चर्चामा आएकी बस्नेत मोडलिङ प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएकी हुन् ।


भारत, बंगलादेश, पाकिस्तान, दुवई र कतार लगायतका अन्तर्राष्ट्रिय देशमा भएको खेलमा सहभागिता जनाउनुका साथै विभिन्न पदक पनि हात पारेकी छन् । राष्ट्रिय स्तरका खेलमा पूर्वाञ्चल टिमबाट खेल्ने उनी आफ्नो टिमलाई स्वर्ण तथा रजत पदक दिलाउन सफल भएको बताउँछिन् । सन् २०१४ मा पाकिस्तानमा भएको ह्यान्डबल प्रतियोगितमा नेपाललाई कास्य पदक दिलाउन सफल भएकी थिइन् । सन् २०१६ मा बंगलादेशको ढाकामा भएको अन्तर्राष्ट्रिय प्रतियोगितमा रमिलाले चौथो स्थान सहित अनुशासन तर्फको पुरस्कार पाएकी थिइन् । उनी राष्ट्रिय खेलकुद परिषद च्याम्पियनशिप, २०७४ मा पनि सहभागी भई तृतीय स्थान हासिल गर्न सफल भएकी थिइन् ।


रमिला बस्नेतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाले पनि थुप्रै सम्मान गरेको छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्ष २०१७ मा नेपाल जेसीज उत्कृष्ट युवा प्रतिभा पुरस्कारबाट गोल्ड मेडलसहित पुरस्कृत गरेका थिए । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा प्रतिभा पुरस्कार समेत बस्नेतले हात पारेकी छिन् । खेलाडी बस्नेत सञ्चारकर्मीको साथै सामाजिक सेवामा पनि समर्पित रहेकी छिन । उनले आफू माथिल्लो पदमा पुगेपछि देश विकासमा दृढ भएर लाग्ने बताउँदै उनले भनिन, ‘कुरा होइन कामै गर्ने थिएँ ।’


भविष्यमा प्रदेश नं. १ को पर्यटन क्षेत्रलाई चिनाउने साथै महिला हिंसा विरूद्ध सशक्त भएर लाग्ने उनले बताइन् ।
बाबु राजेन्द्रले आफू रोगले थला परेपछि छोराछोरीलाई तिमीहरूले केही गर्नुपर्छ भनेर सल्लाह दिएको र उनीहरू आफै लागेर नाम कमाउन सफल भएकोमा आफु छोरीप्रति गर्भ गर्छु । ‘छोराछोरी जन्मे, हुर्केपछि गर्ने नै यही हो’, उनले भने । छोरीले अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाई सकेकोले मोडलिङ मार्फत नेपाललाई विश्वमा चिनाउन सकोस् । ‘मोडलिङ नयाँ कुरा हो, तर पनि हिम्मत नहार्नु भनेर भनेको थिएँ, हिम्मत हारेकी थिइनन र मिस प्रदेशको ताज पहिरिन’, उनले भने, ‘यो छोरीले अझै प्रगति गर्नेमा म ढुक्क छु ।’

तपाईको प्रतिक्रिया