उदयपुर । उदयपुरको कटारीमा एक क्रसर उद्योगमा फेला परेका दुई वटा शंखास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । कटारी नगरपालिका–६ सागुरीमा रहेको मदन भण्डारी राजमार्गसँगै जोडिएको लामा एण्ड शर्मा जेभी कन्ट्रक्सनको क्रसर उद्योग कम्पाउण्ड भित्र रहेको स्काईभेटर र क्रसरको रोलर मुनी फेला परेको शंखास्पद वस्तु सेनाले डिस्पोज गरेको हो ।
विहान करिब ९ बजे शंखास्पद वस्तु देखेपछि रण शार्दुल गण सुरक्षा पोष्ट बेलस्रोतबाट सह–सेनानीको डिस्पोजल टोलीले डिस्पोज गरेको इलाका प्रहरी कार्यालय कटारीको डिएसपी प्रेमसागर केसीले जानकारी दिए । उनका अनुसार क्रसरको रोलर मुनी लाईलनको झोला भित्र र ना.१क २७६० नम्बरको स्काईभेटरको चेन माथी जेब्रा झोला भित्र राखेका शंखास्पद वस्तु प्रेसर कुकर भएको बताए । डिस्पोजल टोलीले ३ः५५ बजे र ४ः३० बजे सुरक्षित साथमा डिस्पोज गरेको प्रहरीले जनाएको छ ।
लामा एण्ड शर्मा जेभी कन्ट्रक्सनले मदन भण्डारी राजमार्गलाई चाहिने आवश्यक गिट्टी, बालुवा उत्पादन गर्दै आएको छ । क्रसर हाल राजेश कार्कीले संचालन गर्दै आएको छ । घटना बारे जिल्ला प्रहरी कार्यालय उदययपुर र सशस्त्र प्रहरी बल न. ५ गणले समेत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।









