उदयपुर / उदयपुरमा चुन ढुंगा बोक्ने टिफरले आइतबार राति ९ बजे ठक्कर दिँदा एक जनाको घटना स्थलमै ज्यान गएको छ । कसमस सिमेन्टको ढुंगा बोक्ने टिफरले ठक्कर दिँदा त्रियुगा नगरपालिका ७ चुहाडे कपसा बस्ने इन्द्र राईका छोरा अन्दाजी १९ वर्षिय सोनाम राईको घटना स्थलमै मृत्यु भएको थियो ।
एक महिनादेखि उदयपुरगढी गाउँपालिका वडा नं. ४ र ८ स्थित सरुने गाउँबाट कसमस सिमेन्ट उद्योगको चुन ढुंगा टिफरले बोक्दै आएको छ । ठक्कर दिने टिफर भने फरार रहेको प्रहरीले जानकारी दिए । चुन ढुंगा बोक्ने ४० वटा भन्दा बढी टिफरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । अहिले स्थानीले टिफर आवत जावतमा रोक लगाएको छ ।
टिफरको आवतजावतले रातभरी सुत्न पाईदैन, नियमन निकाय मौन
टिफर चौविसै घण्टा संचालनमा आएपछि ठूला मानिसको साथै स्कूल पढ्ने बालबालिकालाई सडक वारपार गर्न समस्या आएको स्थानीय अमर बहादुर दनुवारले बताए । ‘टिफरले यसरी घुईकिएर आउँछ कि हावाले नै आफुहरुलाई तान्ला गरे जस्तो हुन्छ ।’ उनले भने, ‘टिफरको गाई गुईको आवाजले गर्दा रातभरी सुत्न समेत पाईदैन् ।’
के कति समयसम्म टिफरलाई चल्न दिने, कुन कुन नम्बरको सवारी साधन उदयपुर प्रवेश गर्यो र कुन कुन नम्बरको सवारी साधन जिल्ला बाहिर गयो भन्ने चेकिङ पोइन्ट लालपत्ता प्रहरी चौकीले रेकर्ड नराख्दा टिफर फरार भएको छ । लालपत्ताले केही टिफरलाई अनुसन्धानमा लिएपनि यहि टिफरले मान्छे मार्यो भन्न नसकिने अवस्थामा रहेको छ । पहिले पहिले उदयपुर भित्रिने र वाहिरिने सवारी साधनको लालपत्ता प्रहरी चौकीले रेकर्ड राख्ने गर्दथ्यो तर अहिले कुनै रेकर्ड राखेको पाइदैन् । नियमन निकाय नै खुल्लम खुल्ला रातभरी टिफर गुडन दिएपछि आफुहरुको निद्रा खल्बलिएको लालपत्ताका स्थानीय महेन्द्र राउतले बताउँछन् । उनका अनुसार रातभरी टिफरको गाई गुइले रातभरी सुत्न पाइदैन भने विद्यालय पढ्ने बालबालिकालाई सडक वारपार गराउन समस्या हुन थालेको बताए ।
यस्तै रातभरी टिफर चलेपछि आफुहरुको निद्रामा डिस्टर्व भएको भन्दा समेत लालपत्ता प्रहरी चौकीले केही नगरेको लालपत्ताका एक स्थानीयले बताए । उनका अनुसार प्रहरी चौकी लालपत्तालाई मात्रै होइन जिल्ला प्रहरी कार्यालयलाई समेत यस वारेमा जानकारी गराउँदा समेत कुनै चासो नलिएको बताए । उनले प्रहरी प्रशासनमाथि इंगित गर्दै पैसा खाएर रात भरी टिफर चल्न दिएको समेत आरोप लगाए ।
यस्तै टिफरले ओभर लोड बोक्न थालेपछि ट्राफिक प्रहरीले कडाई गरेपछि राति ७ बजेपछि मात्रै अधिकांश टिफरहरु चल्न थालेका थिए । ति टिफरहरु रात भरी चुन ढुंगा बोक्ने गरेको थियो ।