गाईघाट / नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पुर्व जिल्ला बिकास समिति उदयपुरका सभापति बेदप्रसाद पोखरेलले जिल्लाका सबै क्षेत्रलाई समेटेर संकलन गरेको टेलिफोन डायरी प्रकाशनमा ल्याएका छन् ।
शुक्रबार सदरमुकाम गाईघाटमा पत्रकार सम्मेलनको आयोजना गरी प्रकाशित ‘उदयपुर डाइरेक्ट्री’ सार्वजानिक गरेका हुन् । जिल्लालाई सञ्चार सूत्रले जोड्ने र जिल्लाबासीबीच सम्बन्ध स्थापित गर्ने उदेश्यकासाथ डायरी प्रकाशन गरिएको पोखरेलले बताए ।
पुर्व नेकपा एमालेका जिल्ला कमिटी अध्यक्षसमेत रहेका पोखरलको यो दोस्रो प्रकाशन हो । यसअघि उनले २०६२ सालमा सन्क्षिप्त उदयपुर डाइरेक्ट्री प्रकाशन गरेका थिए । पाँच सय ४३ पेज रहेको डाइरेक्ट्रीमा २२ हजार व्यक्तिका परिचयसहित फोन नम्बर समावेश गरेको उनले बताए ।
डाइरीमा स्थानीय, प्रदेस, प्रतिनिधि र राष्ट्रिय सभाका जनप्रतिनिधि, जिल्लास्थित पार्टी र तिनका नेता, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, कर्मचारी, पदाधिकारीका फोननं समेटिएका छन् । त्यसैगरी जिल्लास्थित चार सय ४५ सामुदायिक तथा निजी बिद्यालय, सञ्चार माध्यम र त्यसका प्रतिनिधि, सामुदायिक वन, होटल तथा अन्य व्यसायी, सर्वसाधरणसमेतको फोननं रहेको उनको भनाई छ ।
पाठकको सुविधाका लागि शब्दकोषमा झै वर्णानुक्रम मिलाएर नामहरु राखिएकाछन् । त्यसपछि पार्टी संगठनहरु, सरकारी कार्यालयहरु, संघसंस्था निर्वाचित प्रतिनिधिहरुको कार्यालय र नामहरु क्रम मिलाएर राखिएको उनले बताए । आफ्नो निजी डायरी आफ्नो मात्र प्रयोजनमा सिमिति नराखी सबैका लागि काममा आवस भन्ने हेतुल डाइरी प्रकाशनमा ल्याइएको उनले बताए ।
डायरीमा जिल्ला भित्र र कामको शिलशिलामा जिल्ला वाहिर, विदेश रहेकाहरुकोसमेत फोननं रहेको पोखरेलले बताए । प्रकाशित डाइरेक्ट्रीमा धेरै व्यक्ति कार्यालयका नामहरु छुटन गएको, केहि कमिकमजोरी पनि भएकाले आगामी अंकमा सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । तीन हजार प्रति प्रकाशन गरिएको डाइरेक्ट्री नौ लाख रुपिँया खर्च लागेको उनले बताए । आर्थिक उपार्जनभन्दा पनि सेवाको हिसावले डाइरेक्ट्री प्रकाशन गरिएको पोखरेलको भनाई छ ।