उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १६ जाल्पाचिलाउने आहाले रातापानीमा बिहिबार दिउँसो ३ बजेको समयमा घरमा आगलागी हुँदा ४ बर्षिय बालकको जलेर ज्यान गएको छ । घरमा कोही नभएको बेलामा अचानक आगलागी हुँदा चन्द्र बहादुर राइको छोरा विष्णु बहादुर राईको जलेर ज्यान गएको हो ।
घरमा कोही पनि नभएको अबस्थामा ४ वर्षिय बिष्णु बहादुर राईले लाईटर खेलाउने क्रममा आगोलागी हुँदा फूसको छाना, ढुङ्गा माटोले बनेको २ तले घर, घरमा रहेको अन्नपात, लत्ता कपडा, भाँडा वर्तन, २ ओटा सुँगुर गरी अन्दाजी १८ लाखको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै आगलागीबाट सोही ठाउँका बम बहादुर राईको फूसको छाना, ढुङ्गा माटोले बनेको २ तले घर, गाई गोठ, घर भित्र रहेको अन्नपात, भाँडा वर्तन, लत्ता कपडा समेत गरी अन्दाजी १४ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो साढे दुई घण्टामा स्थानीय र प्रहरीले नियन्त्रणमा लिएको थियो ।









