कपिलवस्तु । प्रहरीले कपिलवस्तुको शिवनगरबाट ५ थान एसएमजी राइफल, त्यसमा प्रयोग हुने म्यागेजिन र गोली बरामद गरेको छ ।
शिवनगर सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविकक्रम चन्द ‘विप्लव’ गृहनगर हो ।
नेपाल प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्युरोको सुपरीवेक्षणमा दाङ जिल्लाको गढवा र कपिलवस्तुको शिवनगर नगरपालिकाको सीमानामा रहेको गोठबाट शुक्रबार साँझ ५ थान एसएमजी राइफल, त्यसमा प्रयोग हुने म्यागजिन १३ थान र ३९० राउन्ड गोली र हतियार राखिएको रातो सुटकेस बरामद गरेको प्रहरीले जनाएको छ ।
सो हतियार सुटकेसमा लुकाएर राखिएको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए ।
यसअघि पनि प्रहरीले सो क्षेत्रबाट विप्लव समूहका हतियार बरामद गरेको थियो । पछिल्लो समय एक स्थानबाट प्रहरीले ठूलो परिणममा हतियार बरामद गरेको हो ।
प्रहरीले सो हतियार विप्लव नेकपाकै भएको दावी गरेको छ । विप्लव समूहले हतियार ल्याउँदै गरेको सूचनाका आधारमा गस्ती बढाउँदा सो मात्रामा हतियार फेला परेको प्रहरीको भनाइ छ ।
हतियार बरामद भए पनि कुनै मानिस पक्राउ नपरेका कारण हतियार कसको र के प्रयोजनका लागि ल्याएको भन्ने चाहिँ पुष्टि हुन सकेको छैन । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









