उदयपुर । उदयपुरमा कालिका अटो लिंक गाईघाटले विहिबार तीन पाङग्रे सवारीका चालकहरुलाई सम्मान गरेको छ । ट्राफिक सचेतना तथा चालक सम्मान कार्यक्रममा अनुशासित रुपले चालकको काम गर्दै आएका तीन पाङुग्रे सवारी साधन (टेम्पो) का चालकहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा उदयपुरमै पहिलो अटो धनी तथा पहिलो तीन पाङ्ग्रे स्वरोजगारी चालक त्रियुगा नगरपालिका १० का लोलानाथ रिजाल, पहिलो महिला चालक त्रियुगा नगरपालिका ११ की देविका सार्की, अटो खरिद गरेदेखि अहिलेसम्म कुनै दुर्घटना नगराएका अटो धनी तथा चालक सविन ढकाल र चालक विष्णुदेव दास रहेका छन् । चालक दास श्रीमती सुनैनादेवीको नामबाट निकालिएको टेम्पोको नियमित किस्ता तिर्ने चालक हुन् ।सम्मानित कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीका अनुसार नेपालको अधिकांश ठाउँमा ९० प्रतिशत दुर्घटना सवारी चालकको लापरवाहीको कारणले हुने गरेको बताए । ‘८७ प्रतिशत चालकको आफ्नो लापरबाही र ३ प्रतिशत तिव्रगतिले दुर्घटनाहरु हुने गरेको सवारी दुर्घटनाको तथ्याङ्कले देखाउँछ ।’ डिएसपी केसीले भने, ‘चालकले मादक पदार्थ तथा लागूऔषध सेवन गरेर सवारी साधन चलाउनु, पारिवारिक कलह तथा तनावमा परेर सवारी साधन चलाउनु, कमजोर दृष्टिले लामो दुरीसम्म सवारी साधन चलाउँदा दुर्घटना हुने गरेको साथै सिट क्षमता भन्दा बढी यात्रु बोक्ने र तिव्रगतिले पनि दुर्घटना हुने गरेको छ ।’ उनका अनुसार १० प्रतिशत दुर्घटना यान्त्रिक गडवडी, अरुको कारणले हुने गरेको तथ्याङ्कले देखाउँछ । त्यसैले मादक पदार्थ तथा लागूपदार्थ सेवन गरेर सवारी साधन नचलाउने, पारिवारिक कलह तथा तनावको समयमा आराम गरेर सवारी साधन चलाउने, तिव्रगतिमा नचलाउँदा र सिट क्षमता भन्दा बढी यात्रु नबोक्न दुर्घटना न्यूनीकरण हुने बताए ।
यातायात व्यवस्था सेवा कार्यालय, उदयपुरका अधिकृत योगेश खनालले यातायात क्षेत्रको निती नियमको बारेमा जानकारी दिएका थिए । उनले प्रत्येक वर्ष चैत्र मसान्त भित्र सवारी साधन नविकरण गर्नु पर्ने, सार्वजनिक सवारी साधनले असोज मसान्त भित्र आय कर बुझाउनु पर्ने, जाँच पास तथा रुट परमिट अनिवार्य लिनु पर्ने, विमा तथा सवारी चालक अनुमति पत्र लिएर सवारी साधन चलाउनु पर्ने बताएका थिए ।
जिल्ला ट्राफिक इन्चार्ज दिनेशकुमार चौधरीले ट्राफिक सचेतनाको बारेमा बोलेका थिए । उनले ट्राफिक नियम अनिवार्य रुपमा पालना गर्नु पर्ने, ब्रेकिङ दुरी कायम गर्नु पर्ने, पार्किङ कसरी गर्ने, साइड कसरी लगाउने लगायत ट्राफिक संकेतको ज्ञान हुनु पर्ने लगायतका विषयमा बोलेका थिए ।
सिटी सवारी यातायात प्रा.लि. उदयपुरको सहजिकरण तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको विशेष समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रमले चालकहरुलाई असल र अनुशासित बन्न प्रेरणा मिलेको सिटि सवारी यातायात प्रा.लि.का सचिव टंक मगरले बताए । यसले चालक पेशालाई सम्मानित पेशाको रुपमा झल्काएको पनि उनले बताए । उनका अनुसार देशका राष्ट्रपति, प्रधानमन्त्री, नेताहरुको जिवन चालकहरुको हातमा हुने भएकोले यसलाई सम्मानित पेशाको रुपमा हेर्न, चालकहरुको पेन्सन व्यवस्था गर्न पनि अनुरोध गरेका थिए ।
कार्यक्रममा विमाको महत्व र आवश्यकताको बारेमा सिद्धार्थ इन्स्योरेन्स शाखा गाईघाटका प्रमुख राजेन्द्र अधिकारीले बोलेका थिए । कार्यक्रमका अध्यक्ष कालिका अटो लिंकका प्रोप्राइटर सुनिल कुमार ठाकुरले आगामी दिनमा पनि असल चालकहरुलाई सम्मान गर्ने बताए । अटो लिंक गाईघाटका मेनेजर उद्धव अधिकारीले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी भएको सहभागिहरुले बताए ।

 

तपाईको प्रतिक्रिया