उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ९ उत्राई टोलको मुसहर बस्तिका २५ घरधुरीलाई राहत वितरण गरिएको छ । त्रियुगा नगरपालिका ९ का वडाध्यक्ष धन बहादुर दनुवारको उपस्थितिमा ओरेक नेपाल उदयपुरले राहत सामग्री बितरण गरेको हो ।
यस वर्षको अविरल वर्षाले मुसहर समुदायको जनजिवन अस्तव्यस्त रहेकोले नजिकिदै गरेको तिहारको अवसर पारेर बाढी पीडितलाई राहत वितरण गरिएको ओरेक नेपाल, उदयपुरका व्यवस्थापक कमला खड्काले बताईन ।
उनका अनुसार यस वर्ष आएको अबिरल वर्षात बाढी बस्तिमा पसि घरहरु भत्केको तथा अन्न लुगा फाटो नष्ट भएको थियो । बाढी प्रभावित क्षेत्रमा ४ जना सुत्केरी महिलाहरु प्रभावित भएका थिए ।
मुसहर बस्ती त्रियुगा खोला र शाहीखोलको दोभानमा पर्दछ । उक्त स्थानमा २५ घर मुसहर समुदाय बसोबास गर्दै आएको छ । आर्थिक रुपमा बिपन्न मुसहर समुदाय बर्षेनि शाहीखोला र त्रियुगा खोलाको चपेटामा पर्दै आएको छ ।
बाढी प्रभावितलाई ओरेक नेपाल उदयपुरले खाद्यन्नमा २५ केजी चामल, १ लिटर खाने तेल, २ केजी दाल, १ प्याकेट नूनको साथै महिलाले प्रयोग गर्ने सामाग्रीहरु सारी, पेटिकोट, साबुन, मन्जन, ब्रस, पेन्टि, सेनिटरी प्याड लगायत भएका डिगिनिटि किट वितरण गरिएको थियो ।









