जनकपुर / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश २ जिल्ला कमिटीको स्थगित गरिएको सपथ ग्रहण समारोह फेरि आयोजना गर्न लागिएपछि झडप भएको छ ।
मंगलबार महोत्तरीको बर्दिबासमा स्थगित गरिएको सपथ ग्रहण समारोह फेरि आयोजना गरिएपछि प्रदेश २ को ८ वटै जिल्लाका सन्तुष्ट र असन्तुष्ट पक्षबीच झडप भएको हो ।
नेकपाका शीर्ष नेताहरूले सक्रिय कार्यकर्ताहरूभन्दा आफ्ना नजिकका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर जिल्ला पदाधिकारीमा छनोट गरेको भन्दै असन्तुष्ट पक्षका नेता कार्यकर्ताहरू सपथग्रहण कार्यक्रम बिथोल्ने चेतावनी दिँदै आएका थिए ।
असन्तुष्ट नेता कार्यकर्ताको चेतावनीका बाबजुद पनि सपथग्रहण समारोहलाई यथावत राखेपछि झडप भएको बताइएको छ ।
झडपमा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहमाथि समेत हातपातको प्रयास भएको नेकपाका एक नेताले बताए ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज समेत गरेपछि एक जनाको टाउको समेत फुटेको नेकपाका स्थानीय कार्यकर्ता राधे महतोले जानकारी दिए ।
तर नेकपाका नेता रामचन्द्र मण्डलले सामान्य विवाद मात्रै भएको प्रतिक्रिया दिएका छन् ।
यसअघि जिल्ला कमिटी विवादित भएको भन्दै प्रदेश अध्यक्ष प्रभु साहलाई कारबाही गर्न नेकपा सचिवालयमा निवेदन समेत परेको थियो ।
सोमबार अबेर साँझसम्म काठमाडौंमा विवाद नहुने गरी जिल्ला कमिटीको शपथ गराउन नेकपाका शीर्ष नेताबीच छलफल भएको थियो ।
छलफलका क्रममा कुराकानी नमिलेपछि विवादित जिल्ला कमिटीबारे पछि सहमति गर्ने गरी तत्कालका लागि सपथ ग्रहण कार्यक्रम रोक्ने समेत कुरा भएको थियो ।
शपथ ग्रहण रोक्ने पक्षमा प्रदेश कमिटीका सहइन्जार्चहरूमा महेन्द्र पासवान र नागेन्द्र चौधरी छन् भने प्रदेश इन्चार्ज सत्यनारायण मण्डल तटस्थ देखिएका छन् ।
धनुषाका सहइन्जार्चहरू रत्नेश्वरलाल गोइत, यदुवंश झा, शत्रुधन महतो र श्रीप्रसाद साह पनि सपथ ग्रहण रोक्ने पक्षमै छन् ।

तपाईको प्रतिक्रिया