उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुचीमा बिहिबार मात्रै एक सय १५ जनाले ज्येष्ठ नागरिक परिचय पत्र प्राप्त गरेका छन् । ६० वर्ष उमेर पुरा गरेका सबै नागरिकले परिचय पत्र प्राप्त गरेसँगै यातायात र औषधी उपचारमा ५० प्रतिशत छुट प्राप्त गर्ने परिचय पत्रमा नै उल्लेख गरिएको छ । गत सोमबारदेखी वितरण शुरु गरिएकोमा हालसम्म करिव २ सय जनाले परिचय पत्र प्राप्त गरिसकेका वडा कार्यालयले जानकारी दिएको छ ।
वडा कार्यालयबाटै पहिलो पटक वितरण थालिएको ज्येष्ठ नागरिक परिचय पत्र लिनका लागि नागरिकहरुको बाक्लो उपस्थिती रहेको वडा अध्यक्ष उत्तर कुमार मगरले जानकारी दिए । साथै रौतामाई गाउँपालिका वडा नम्बर ७ मा करिव ५ सयको हाराहारीमा ज्येष्ठ नागरिकहरु रहेको अध्यक्ष मगरले बताएका छन ।
कार्यालयमा परिचय पत्र लिने ज्येष्ठ नागरिकको भिड बढेपछि कर्मचारी लगायत वडा अध्यक्ष मगर समेत खटिएर वितरण भरेर राखिएको वडा सचिव लोकेन्द्र कार्कीले जानकारी दिए । ज्येष्ठ नागरिक सम्बन्धी नियमावली २०६५ को नियम १४ को उपनियम (१) बमोजिम, सत्तरी वर्ष उमेर पूरा नगरेका ज्येष्ठ नागरिक, सत्तरी वर्ष उमेर पूरा गरेका बरिष्ठ ज्येष्ठ नागरिक, असहाय ज्येष्ठ नागरिक, अशक्त ज्येष्ठ नागरिक, एकल ज्येष्ठ नागरिकमा बर्गिकरण गरि वडा कार्यालयहरुबाटै परिचय पत्र वितरण गरिराखिएको रौतामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्ब राज राई जानकारी दिए ।
ज्येष्ठ नागरिक परिचय–पत्र प्राप्त गर्नका लागि साठी वर्ष उमेर पुगेको ज्येष्ठ नागरिक स्वयं वा निजको संरक्षकले वडा कार्यालयमा उमेर खुलेको नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि, तिन प्रति अटो साइजको फोटो संलग्न राख्नुपर्नेछ साथै अन्य स्थानको नेपाली नागरिकताको प्रमाणपत्र भएमा अनिवार्य रुपमा निजले बसाई सराई वा मतदाता परिचय पत्र पेश गर्नुपर्ने रौतामाई गाउँपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख बविता परियारले जानकारी दिईन ।
ज्येष्ठ नागरिकहरुको पहिचान गर्ने, स्थानीय तहदेखि नै ज्येष्ठ नागरिकहरुको लगत राख्ने, नेपालको संविधान अनुसार प्रदत ज्येष्ठ नागरिकहरुको हक अधिकार सुनिश्चित गर्ने उदेश्यका साथ परिचय पत्र वितरण गरिएको हो ।
तत्कालिन महिला तथा बालबालिका कार्यालयले जिल्लाबाटै वितरण गरिरहेको ज्येष्ठ नागरिक परिचय पत्र, कार्यालय स्थानिय तहमा स्थानान्तरण भएसगै पालिकाहरुले आ–आफ्नो कार्यालय तथा वडाहरु मार्फत वितरण गरिराखेका छन ।









