उदयपुर । धेरै नेपालीको सपना हुने गरेको छ – आफ्नै कम्तिमा एउटा घर होस् । र, त्यो घर पनि सकेसम्म सहरी क्षेत्रमै होस् ।
सहरका घर भन्ने वित्तिकै तपाईले अनुमान गर्नु भयो होला – इटा, सिमेन्ट र फलामे छडले बनेका घर । आधुनिक मानिने यस्ता घर बनाउन सामान्य आर्थिक अबस्था भएको एउटा परिवारले जीवनभरको कमाइ लगानी गरेको हुन्छ ।
अब हामी यहाँ तपाइलाई सिमेन्टको कथा सुनाउदै छौं । तपाइको परिवारले जीवनभरको कमाइ लगानी गरेर बनाएको वा बनाउने तयारी गरेको सपनाको घर बनाउने एउटा महत्वपूर्ण बस्तु सिमेन्ट हो । सिमेन्ट कमजोर भयो भने घर कमजोर मात्रै हुदैन, त्यही घरले किचेर परिवारै मार्न पनि सक्छ ।
सरकारले तोकेको मापदण्ड पूरा नगरी उत्पादन गरिएको सिमेन्ट बिक्री–वितरणका लागि पठाउन पाइँदैन । त्यस्तो अवस्थामा सिमेन्ट जफत गरी प्रतिबन्ध लगाउन सक्ने ऐनमा व्यवस्था छ । तर, कतिपय उद्योगले गुणस्तरहीन सिमेन्ट उत्पादन गरिरहे पनि नियमनकारी निकाय मौन छ । जसका कारण भौतिक संरचना निर्माणका लागि अत्यावश्यक सिमेन्ट खरिद गर्ने उपभोक्ता ठगिइरहेका छन् ।
पछिल्लो चरण नेपाल अल्ट्राटेकको ओपीसी सिमेन्टमा बिक्री बितरण रोक्का, चितवन सिमेन्टको पिपिसि सिमेन्टको इजाजत पत्र रद्द, अम्बुझा सिमेन्टको ओपीसीमा इजाजत पत्र स्थगन र जानकी सिमेन्टको ओपीसी बिक्री बितरणमा रोक लगाएको छ ।
ती उद्योगले उत्पादन गरेका ओपीसी र पीपीसी सिमेन्टमा आइआर र एमजिओको मात्रा उच्च पाइएकोले कारबाही गरेको नेपाल गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । विभागले असारमा २५ सिमेन्ट उद्योगको नमुना संकलन गरेको थियो । जसमध्ये नेपाल अल्ट्राटेकको ओपीसी उत्पादन आइआर नेपाल गुणस्तर अनुसार थिएन । उक्त सिमेन्टलाई बिक्री बितरणमा रोक गरी स्पष्टीकरण माग गरिएको उनले बताए । चितवन सिमेन्टको पीपीसी उत्पादनमा पनि आइआरको समस्या रहेको इजाजत पत्र रद्द गरिएको छ ।
यस्तै, अम्बुझा सिमेन्टको पनि इजाजत पत्र स्थगन भएको छ । उक्त उद्योगले उत्पादन गर्ने ओपीसी सिमेन्टमा एमजिओको प्रतिशत उच्च फेला परेको थियो । नमुना परीक्षण गर्दा ७.३ प्रतिशत फेला परेको थियो । सुनसरीमा रहेको जानकी सिमेन्ट इन्डष्ट्री प्रालिको ओपिसी उत्पादनमा पनि बिक्री वितरण रोक लगाइएको छ । विभागका अनुसार ओपीसीमा आइआर, एलएसएफको मान नेपाल गुणस्तर अनुसार थिएन । कैफियत भेटिएकाले बिक्री वितरणमा रोक गरी स्ष्टीकरण माग गरेको छ ।
अहिले चर्चामा रहेका अर्घाखाँची, होङ्सी शिवम्, सगरमाथा र सर्वोत्तम सिमेन्टले दुई वर्षदेखि गुणस्तरहीन सिमेन्ट उत्पादन गरिरहेको खुलेको छ । विभागले गत आर्थिक वर्षको जेठसम्म गुणस्तरविपरीत सामान उत्पादन गर्ने १३ सिमेन्ट उद्योगलाई कारवाही गरेको थियो ।
विभागले मारुती सिमेन्ट सिरहा मिर्चैया, होङ्सी शिवम् सिमेन्ट प्रालि, अम्बे सिमेन्ट, घोराही सिमेन्ट प्रालि दाङ, नारायणी सिमेन्ट उद्योग बारा, विश्वकर्मा सिमेन्ट प्रालि पर्सा, मेगा सिमेन्ट झापा गुस्तरहिन सिमेन्ट उत्पादन गरेको भन्दै कारबाहीमा परेका छन् । गोरखकाली सिमेन्ट झापा, अन्नपूर्ण सिमेन्ट मोरङ, ओम सिमेन्ट, नेपाल शालिमार सिमेन्ट, नेपाल अम्बुजा सिमेन्ट, मित्तल सिमेन्ट लगायत सिमेन्ट पनि कारवाहीमा परेको थियो ।
कारबाहीमा परेका सिमेन्टहरुमा साउनेस, म्याग्नेसियम, आइआर बढी देखा परेको थियो । साउनेस बढी भएमा ढलानको पकड कम हुनु, म्याग्नेसियम बढी हुँदा त्यसले ढलानको स्ट्रकचरमा समस्या पर्ने, आइआर बढी हुनु भनेको सिमेन्टमा खरानीको मात्रा बढी हुनु, फाइनेस नहुँनु भनेको सिमेन्ट जतिसम्म पिसिनु पर्ने हो त्यति नपिसिनु लगायतको समस्या देखा परेकोले विभागले कारबाही गरेको थियो ।
अधिकतम पाँच प्रतिशतसम्म म्याग्नेसियम हुनुपर्नेमा नाप जाँचका क्रममा त्योभन्दा बढी भएकाले सो सिमेन्ट गुणस्तरहीन भएको देखिएको महानिर्देशक पुडासैनीले बताए । महानिर्देशक पुडासैनीले भने, ‘पाँच प्रतिशतभन्दा बढी म्याग्नेसियम भएको सिमेन्ट गुणस्तरको मानिँदैन ।’
ओपीसी र पीपीसी सिमेन्टमा पाइने तत्वहरुमा म्याग्नेसियम अक्साइड अर्थात् एमजीओ पनि एक तत्व हो । म्याग्नेसियम अक्साइड प्रकृतिमै हुने भएकाले सिमेन्ट उत्पादन गर्दा यसलाई नियन्त्रण गर्नुपर्दछ । सरकारले सिमेन्टमा एमजीओको मात्रा ५ प्रतिशतसम्मलाई ठीकै मान्दै आएको छ । सिमेन्टमा यसको मात्रा जति कम भयो, त्यसलाई त्यति राम्रो मानिन्छ । अधिकांश विकासशील र विकसित देशहरुमा भने एमजीओको मात्रा ४ प्रतिशत मात्रै राखिएको पाइएको छ । सिमेन्टमा एमजीओको मात्रा बढी भएमा यसले गिट्टी, बालुवा तथा इँट्टालाई राम्रोसँग नसमात्ने र सुके लगत्तै फुट्ने वा चर्कने गर्छ । लामो समयसम्म बलियो नहुने भएकाले सिमेन्टमा एमजीओको मात्रा कम हुनु आवश्यक छ ।
उत्पादन मिति नै खुलाउँदैनन् उद्योगी
सिमेन्ट उद्योगले उपभोक्ताले प्रत्यक्ष रूपमा थाहा पाउने गरी उत्पादन मिति समेत राख्दैनन् ।
बोरामा वर्षको ५२ हप्ता अनुसार ५२ वटै ब्याच नम्बर राखिएको हुन्छ । जस्तैः २०७६ श्रावण १ गतेदेखि ७ गतेसम्म उत्पादन गरिएको सिमेन्टका बोरामा २०७६÷१ लेखिएको हुन्छ । बोरामा २०७६÷५२ लेखिएको छ भने त्यो सिमेन्ट २०७६ चैतको अन्तिम हप्ता उत्पादन गरिएको हो भनी बुझ्नुपर्छ ।
सिमेन्ट पनि खाद्य सामग्री जस्तै उत्पादन भएको निश्चित अवधिभित्र उपयोग गरिसक्नुपर्छ । नत्र ‘डेट एक्सपायर्ड’ हुन्छ र निर्माण कच्चा हुन जान्छ । सिमेन्ट सही तरिकाले स्टोर गरिएको छ भने ६ महिनाभित्र प्रयोग गर्न सकिने गुणस्तर विभागले जनाएको छ ।
नेपालमा अहिले ६१ वटा सिमेन्ट उद्योगले नेपाल गुणस्तर (एनएस) चिह्न प्रमाणपत्र लिएका छन् । यसबाहेक भारतीय ८ वटा सिमेन्टले पनि प्रमाणपत्र लिएका छन् । एनएस प्राप्त सबै नेपाली सिमेन्टलाई विभागले ३३ ग्रेडको मान्यता प्राप्त प्रमाणपत्र पनि दिने गरेको छ । तर कतिपय उद्योगले बढी ग्रेडको प्रचार गर्ने गर्दै उपभोक्तालाई झुक्याइरहेका छन् ।
गुणस्तर मापन गर्ने सरकारी निकायले नै उत्पादनमा कमजोरी फेला पारे पनि ती उद्योगमाथि कारबाही हुन सकेको छैन । सरकारी लापरबाहीका कारण उपभोक्ताले गुणस्तरहीन सिमेन्ट प्रयोग गर्नुपर्ने बाध्यता छ । अधिकांश उद्योगको सिमेन्टमा कुनै न कुनै लटको उत्पादनमा समस्या आउँछ ।
यो पनि पढ्नुस्









