काठमाडौं / भोजपुरमा नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताको गोली लागेर एक प्रहरी जवानको मृत्यु भएको छ । सदरमुकामको शनिबारे हटिया लाइनमा बुधबार बिहान सवा आठ बजेतिर गोली लागेर एक प्रहरी जवानको मृत्यु भएको हो ।

प्रहरीको जवाफी फायरिङका विप्लवका एक कार्यकर्ताको पनि मृत्यु भएको प्रहरीले बताएको छ । सदरमुकाममा विप्लव कार्यकर्ता हतियारसहित प्रवेश गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले सुरुमा गोली प्रहार गरेका थिए । विप्लव कार्यकर्ताको गोली लागेर प्रहरी जवान सञ्जीव राईको मृत्यु भएको नेपाल प्रहरीका निमित्त प्रवक्ता एसपी रमेश थापाले जानकारी दिए ।

थापाकाअनुसार जवाफी फायरिङमा विप्लवका एक कार्यकर्ताको मृत्यु भएको छ । मृत्यु हने विप्लव कार्यकर्ता ओखलढुंगाका जिल्ला इन्चार्ज निरकुमार राई रहेको खुलेको छ ।

प्रहरीले उनको साथबाट एक थान चाइनिज पेस्तोल, र पाँच राउन्ड गोली बरामद गरिएको जानकारी दिएको छ। भोजपुरमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रदेश एकको केन्द्रबाटसमेत प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।

गत फागुनमा सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाएपछि विभिन्न हिंसात्मक घटना हुँदै आएका छन्। सरकारले विप्लवका कार्यकर्तालाई उच्च निगरानी राखेको छ।

तपाईको प्रतिक्रिया