उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उदयपुरले पुर्णता पाएसँगै असार २१ गते जिल्ला कमिटी उदयपुरको सपथ ग्रहण कार्यक्रम हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर १ कमिटीले जिल्ला कमिटी उदयपुरलाई पुर्णता दिएको हो । जिल्ला कमिटी उदयपुरमा तत्कालिन नेकपा एमालेबाट ८० जना र तत्कालिन नेकपा माओवादी केन्द्रबाट ६५ जना, अध्यक्ष र सचिव सहित १४७ सदस्यीय बनेको छ । यस्तै नगर कमिटी र गाउँ कमिटीको अध्यक्ष, सचिव, वडा कमिटी अध्यक्ष तथा सचिवहरुको नामावली समेत टुङ्गो लगाएको छ ।
जिल्ला कमिटीको अध्यक्षमा तत्कालिन नेकपा माओवादी केन्द्रबाट बिनोद कटुवाल (दिवस) अध्यक्ष र तत्कालिन नेकपा एमालेबाट ईश्वरमणि राउत सचिव रहेका छन् । सदस्यहरुमा तत्कालिन नेकपमा एमालेबाट जिल्ला कमिटीमा परेकाहरु क्रमशः सि.नं. ३ देखि ८२ सम्म र तत्कालिन नेकपा माओवादी केन्द्रबाट सि.नं. ८३ देखि १४७ सम्म रहेका छन् ।





यस्तै तत्कालिन नेकपा एमालेले दुई नगर र दुई गाउँ कमिटीको अध्यक्ष र सचिव पाएको छ भने तत्कालिन नेकपा माओवादी केन्द्रले पनि सोही अनुरुप दुई नगर र दुई गाउँ कमिटीको अध्यक्ष र सचिव पाएका छन् ।
त्रियुगा र चौदण्डीगढी नगरपालिका तत्कालिन नेकपा एमालेले अध्यक्ष पाएका छन भने बेलका र कटारी नगरपालिकामा तत्कालिन नेकपा माओवादी केन्द्रले अध्यक्ष पाएका छन् । यस्तै रौता र ताप्ली गाउँ कमिटीमा माओवादी केन्द्रको भागमा अध्यक्ष परेको छ भने उदयपुरगढी र लिम्चुङबुङ गाउँ कमिटी तत्कालिन एमालेको भागमा अध्यक्ष पाएका छन् ।
त्रियुगा नगर कमिटीमा केशब घिमिरे अध्यक्ष, रामप्रसाद बराल सचिब, चौदण्डीगढी नगर कमिटीमा श्याम राई अध्यक्ष, रमेश बिक सचिब, बेलका नगर कमिटीमा मनोज तामाङ अध्यक्ष, गणेश बस्नेत सचिब, कटारी नगर कमिटीमा मणिराम दाहाल अध्यक्ष, मोहनबहादुर खड्का सचिव, ताप्ली गाउँ कमिटीमा ढुंगराज बिक अध्यक्ष, टोपबहादुर ठकुरी सचिब, लिम्चुङबुङ गाउँ कमिटीमा भलराज राई अध्यक्ष, भिम राई सचिब, उदयपुरगढी गाउँ कमिटीमा चक्रबहादुर तामाङ अध्यक्ष, बिष्णु पराजुली सचिब, रौतामाई गाउँ कमिटीमा ईश्वर राना मगर अध्यक्ष, खिलाराज राई सचिब चयन भएको छ ।









