उदयपुर / प्रहरीले ज्यादती गरेको भन्दै उदयपुरको कटारी नगरपालिका– ४ मरुवाका स्थानिले अबरुद्ध गरेकोे सिद्धिचरण लोकमार्ग आईतवार खुलेको छ । ईलाका प्रशासन कार्यालय, नगरपालिका, प्रहरी र स्थानिय बीच भएको बार्ता सहमतिमा आएपछि सडक खुलेको हो ।
सनिवार राती कसमस सिमेण्ट उद्योगका लागि चुनढुंगा ढुवानी गर्ने ट्रिपरमा अबरोध गरेको भन्दै प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरि , कुटपिट , गाली गलौज गरेको भन्दै स्थानियले प्रहरी बिरुद्ध नाराबाजी गर्दै आईतवार बिहानै सडक अवरुद्ध गरेका थिए । प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी धु्रबकुमार श्रेष्ठको नेतृत्वमा मध्यराती पुगेको टोलीले महिलाहरु माथि हातपात गरेको भन्दै स्थानीय आन्दोलित भएका थिए ।
वार्तामा महिलाहरु माथि अभद्र व्यवहार गर्ने जिम्मेवार पक्षले सार्वजनिक रुपमा महिलाहरुसँग माफी माग्ने , ट्रिपर बैकल्पिक मार्गबाट मात्रै संञ्चालन गर्ने द्वन्द सिर्जना गर्ने अनिस थापालाई तीन दिन भित्रमा उपस्थित गराई कारबाही गर्ने ,पिडित घाईतेहरुको ईलाका प्रशासन कार्यालयको रोहबरमा उपचार गर्ने ,गाली गलौज गर्ने प्रहरीलाई आवश्यक विभागिय कारबाहीका लागि सिफारिस गर्ने सहमति भएको छ ।
त्यसैगरी प्रहरी नायव निरिक्षक श्यामबहादुर राउत र प्रहरी हवल्दार रामेश्वर खङ्गकालाई आवश्यक कारबाही गर्ने सहमति भएको छ । सडक अवरुद्ध हुँदा ओखलढुंगा , खोटाङ्ग,सोलुखुम्बु र जिल्लाकै पहाडी भेग हिंडेका यात्रुहरु अलपत्र परेका थिए ।
कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले टिपर ढुवानी गर्न गएको शुक्रबार र शनिबार छलफल गरेर बैकल्पिक सडक प्रयोग गर्ने भनिएको थियो । ‘वड्मीबाट ककुर खोला हुँदै सडक प्रयोग गर्ने भनिएको थियो,’ उनले भने, ‘त्यही सडक प्रयोग गर्नु पर्ने थियो, तर, कसमसले प्रहरीको बलमा स्थानीयलाई पेल्न खोज्दा झडप भएको हो । छलफल हुँदा पानी छिटेर बैकल्पिक सडक प्रयोग गर्ने सहमति कसमसले तोड्ला समस्या भएको सरोकारवालाको भनाइ छ ।

तपाईको प्रतिक्रिया