उदयपुर । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन नजिकिएसँग जताततै ठूला दलहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको छ । उदयपुर निर्वाचन क्षेत्र नं. २ को रौतामाई गाउँपालिका ७ संगम चोकमा मदन भण्डारी राजमार्ग र रौतामाई गाउँपालिका प्रवेशद्वारको गेटमा तुल टाँग्नुको साथै पोस्टर पम्प्लेट टासिएको थियो । त्यो पोष्टर पम्प्लेट नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदबारहरुको रहेको छ ।
रौतामाई गाउँपालिका ७ कै शिवालय टोलमा शिव मन्दिरमा पनि नेकपा एमालेका उम्मेदबारहरुको पोष्टर पम्प्लेटहरु टासिएको छ । रौतामाई गाउँपालिकाको मुख्य बजार मुर्कुची बजारमा नेकपा एमाले र गठबन्धन दलका तीन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको चुनाव चिन्ह अंकित तुल टाँगिएको छ । केहि ठाउँमा स्वतन्त्र उम्मेदबार रामकुमार राईको चुनाव चिन्ह माछाको पनि तुल र पोष्टर पम्प्लेट टासिएको छ ।
उदयपुरगढी गाउँपालिकामा नेकपा एमाले, गठबन्धन दलका सहित प्रतिनिधि सभाको स्वतन्त्र उम्मेदबार राईको पोष्टर पम्प्लेट टाँसिएको छ ।
उदयपुरको क्षेत्र नम्बर २ मा पर्ने मदन भण्डारी राजमार्ग दर्जनौ ठाउँमा दलको पोष्टर पम्प्लेट टाँसिएको छ भने कटारी बजार प्रवेश गर्ने सडकको दायाँबाँया तुल र ब्यानर टाँगिएको छ ।
उदयपुरको क्षेत्र नम्बर २ मा पर्ने कटारी नगरपालिका ३ राजावसस्थित सिद्धिचरण राजमार्गसँगै सशस्त्र प्रहरी बलको बेसक्याम्प छ । बेसक्याम्पको मूल गेट भन्दा सय मिटर तलको सडकका दुवै तर्फ रोपिएको विरुवा सुरक्षित गर्न बाँसका टोकरी राखिएको छ । ती टोकरी अहिले दलको झण्डाले ढाकिएका छन् । कटारी बजार आसपास चल्ने प्रायः हरेक अटोहरुमा दलको झण्डा, पम्प्लेट टाँसिएको छ ।
त्यतिमात्र होइन, विजुलीका पोल, ढुंगा, मुढा, रुख, वुट्यान अहिले पार्टीका झण्डा र पर्चाले भरिएका छन् । कटारी बजार प्रवेश गर्ने सडकको दायाँबाँया तुल र ब्यानर टाँगिएको छ ।
उदयपुर–१ मा पर्ने बेल्टारमा पनि प्रहरी कार्यालय अगाडिकै बिजुलीका पोलमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदबार डा. नारायण खड्का र प्रदेश सभा १ (क) का उम्मेदबार राजन किराती (बाँसु) को पोस्टर टाँसिएका छन् । जिल्लाको दोस्रो व्यापारिक केन्द्र कटारी बजारमा दलहरुले सम्पर्क कार्यालय राखेका छन् । दलका उम्मेदवारले आचारसंहितामा तोकिएका भन्दा बढी सवारीसाधन प्रयोग गरी ठूला आवाजमा पार्टीका गीतहरु बजाएर गाउँ शहर घन्काएका छन् ।
जिल्लामा आचारसंहिता विपरीतका क्रियाकलाप गरिएको पाइएपछि निर्वाचन आयोग जिल्ला आचारसंहिता अनुगमन समिति उदयपुरले मंगलबार सूचना नै प्रकाशन गरेर आचारसंहिता उल्लघंन नगर्न राजनीतिक दल, दलका उम्मेदबार, दलका भातृ संगठनलाई आग्रह गरेको छ । तर यसलाई कसैले टेरेको छैन ।
जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकृत महेश कुमार दाहाल हस्ताक्षरित निर्देशनमा जिल्लाको क्षेत्र नम्बर २ को नेपालटार, कटारी, बेतसोत, कालीखोला, गराँस लगायतका स्थान क्षेत्र नम्बर १ को रामपुर, बेल्टार लगायत मदन भण्डारी राजमार्गमा आयोगले तोकेको भन्दा बढी झण्डा, व्यानर, पर्चा राखिएको उल्लेख गरेको छ ।
‘विद्यालय लगायत सार्वजनिक क्षेत्रमा निर्वाचन प्रतिकुल भित्तेलेखन बजार क्षेत्रमा ठूलो आवाजामा माईकहरु बजाएर प्रचार प्रसार गरिएको उजुरी प्राप्त भएको छ’, निर्देशनमा भनिएको छ, ‘निर्वाचन लक्षित झण्डा, लोगो, स्टिकर, क्याप, भेष्ट, व्याज, मास्क, गम्छा लगाएको देखिएको छ ।’
जिल्लामा आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले आचारसंहिता २०७९ लागुगरेपनि दलहरुले कार्यान्वयन गरेका छैनन् । समितिले अस्वाभाविक प्रचार सामग्री सुरक्षकर्मीहरुबाट हटाइएको र केही क्षेत्रमा सम्बन्धित दलका कार्यकर्ता र उम्मेदवार स्वयंलाई हटाउन अनुरोध गरेको भएपनि दलहरुले पालना गरेका छैनन् ।