काठमाडौं– नेकपा (एमाले)की केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला सह–ईन्चार्ज रीता कुमारीले एमाले परित्याग गरेकी छिन्। पार्टीको केन्द्रीय कमिटी निर्णयविपरीत प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा जसपा–राप्रपासँग गठबन्धन गरेर जनविरोधी काम गरेको भन्दै आफूले पार्टी त्यागेको बिहीबार जारी गरेको विज्ञप्तिमा उनले उल्लेख गरेकी छिन् ।

‘पार्टी केन्द्रीय कमिटीको बैठकले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने भनी गरेको निर्णय उल्टाउँदै गैरवैचारिक धरातलका दलहरूसँग गठबन्धन गरिएको सर्वविदितै छ नाकाबन्दीको विरोध गरेर राष्ट्रवादी छवि बनाएका पार्टी अध्यक्ष केपी ओलीले नाकाबन्दीको नाइके उपेन्द्र यादवसँग गठजोड गरेर देश र जनतालाई धोका दिने कार्य गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अर्कोतर्फ देशमा राजसंस्था पुनःस्थापन गर्ने, संघीयता खारेज गर्नेजस्ता जनविरोधी अजेन्डाहरू प्रधानताका साथ अगाडि बढाएको पार्टी राप्रपासँग एमालेले जनविरोधी गठबन्धन गरेको छ ।

रीताले यथास्थितिवादी र प्रतिगामी तत्वहरूसँग गहिरो रुपमा एमालेले साँठगाँठ गरेको वर्तमान परिपेक्षमा एमालेले मुलुकलाई निकास दिन नसक्ने निष्कर्षसहित सो पार्टीको साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय कमिटी सदस्यलगायत सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएको जानकारी दिएकी छिन् ।

 

तपाईको प्रतिक्रिया