उदयपुर – केन्द्रीय तथ्याङ्क विभागको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार उदयपुरमा २५ हजार ५३२ जनासंख्या थपिएको छ । जसअनुसार १० वर्षको अवधिमा उदयपुरको कुल जनसंख्या ३ लाख ४२ हजार ७७३ पुगेको प्रारम्भिक नतिजाले देखाएको छ ।
यो १० वर्ष अगाडि २०६८ मा ३ लाख १७ हजार ५३२ जनसंख्या रहेकोमा ०.७३ प्रतिशत अर्थात २५ हजार ५३२ जनसंख्या वृद्धि भएको जिल्ला तथ्याङ्क कार्यालय उदयपुरका प्रमुख शिवनारायण महतोले जानकारी दिए । उनका अनुसार प्रारम्भिक तथ्याङ्क अनुसार पुरुष १ लाख ६५ हजार ३४ जना र महिला १ लाख ७७ हजार ७३९ जना रहेको छ । पुरुषको तुलनामा महिला ७.१५ प्रतिशत अर्थात १२ हजार ७०५ जना बढी हो । प्रारम्भिक नतिजामा लैङ्गिक अनुपातमा ९२.८५ प्रतिशत रहेको छ ।
उदयपुरका आठ वटै पालिकाका ७५ हजार ९३७ घरको जनसंख्या समावेश भएको छ भने ८१ हजार ८०२ परिवारको तथ्याङ्क लिइएको तथ्याङ्क प्रमुख महतोले जानकारी दिए । संघ र प्रदेश चुनावको कारणले केन्द्रीय तथ्याङ्क कार्यालयले जनगणनाको नतिता सार्वजनिक गरेको छैन् । चुनाव सम्पन्न भएपश्चात जनगणनाको तथ्याङ्क सार्वजनिक गरिनेछ ।