उदयपुर । उदयपुरको बेलका नगरपालिकामा मेयरमा काँग्रेसका उम्मेदबार विजयी भएका छन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको तर्फबाट मेयरमा काँग्रेसका उम्मेदबार अशोक कार्कीले १० हजार १२० मत प्राप्त गरी विजयी भएको हो ।
उनले निवर्तमान मेयर दुर्गा कुमार थापालाई फराकिलो मतान्तरले हराउँदै विजयी भएको हो । दुर्गा थापाले ६ हजार ९८० मत प्राप्त गरेका छन् । कार्कीले ३ हजार १४० मतान्तरले जित निकालेको हो । निवर्तमान मेयर थापा शुरुदेखि नै दवावमा रहेका थिए ।
उपमेयरमा नेकपा एमालेका उम्मेदबार जीरा राई विजयी भएकी छिन् । उनले ८ हजार २७६ मत प्राप्त गरी विजयी भएका हुन् । गठबन्धनका माओवादीका उम्मेदबार मनोज तामाङलाई पराजित गर्दै जित निकालेकी हुन् । उपमेयरका उम्मेदबार तामाङले ७ हजार ४९५ मत प्राप्त गरेका छन् । बेलका नगरपालिकामा २१ हजार ८१९ मत खसेको थियो ।
यस अघि लिम्चुबु गाउँपालिकाको अध्यक्षमा गठबन्धनका नेकपा माओवादीका मेजर कुमार राई र उपाध्यक्षमा नेकाका पुष्पलाल राई, उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका मान बहादुर केप्छाकी मगर र उपाध्यक्षमा नेकाका जीत बहादुर खड्का, रौतामाई गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका विरेन्द्र कुमार मगर र उपाध्यक्षमा भुपेन्द्र थापा, ताप्ली गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा ढुङ्गराज विश्वकर्मा र उपाध्यक्षमा नेकाका धनमाया मगर विजयी भएका छन् ।
यस्तै चौदण्डीगढी नगरपालिकामा पनि नेकपा एमालेका उम्मेदबार जित नजिक पुगेको छ भने कटारी नगरपालिकाको मत गणना जारी रहेको छ ।
यस्तै त्रियुगा नगरपालिका वडा नं. १२ मा मतदानको दिन मतदान अधिकृतको लापरबाहीले विवाद हुँदा अहिलेसम्म सम्पूर्ण कार्य स्थगित भएको छ । मतदान अधिकृतले अन्तिममा एक सूचना मार्फत मतदान कार्य बैशाख ३० गते ४ः३० बजेबाट स्थगित गरिएको छ । पुनः मतदान हुने सूचना यसै ठाउँमा पछि प्रकाशन गरिनेछ भन्दै सूचना निकालेको थियो । तर, अहिलेसम्म कुनै निर्णय नै भएको छैन् ।