उदयपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता तथा नेपाल विद्यार्थी संघका पूर्व सभापति नैनसिंह महरले नेपाली कांग्रेस चुनावबाट नभाग्ने स्पष्ट गरेका छन् । आइतबार नेपाली काँग्रेस उदयपुरको पार्टी कार्यालयमा भएको पत्रकार भेटघाटमा यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन असंवैधानिक हो भनेरै पार्टी आन्दोलनमा गएको भन्दै उनले अदालतबाट संसद पुनस्र्थापना नभई चुनावमा जाने निर्णय सदर भए कांग्रेस मैदानबाट नभाग्ने पनि प्रष्ट गरेका हुन् ।
उनले भने, ‘सबैभन्दा ठूलो त जनताको अदालत हो । हामी किन भाग्ने ? फेरि कांग्रेस त कानुन र अदालतको सम्मान गर्ने पार्टी हो । अदालतमा विचाराधीन रहेको विषयलाई प्रभावित पार्ने काम हामी गर्दैनौं । यो कांग्रेसको परम्परा हो ।’
नेता महरले अदालतले संसद पुनस्र्थापना वा नयाँ जनदेशमा जाने जे निर्णय गरेपनि स्वीकार्य रहेको बताए । उनले अदालतले चाँडो भन्दा चाँडो फैसला गरोस् र तोकिएकै समयमा चुनाव गराउन सवैले दवाव दिनु पर्ने बताए ।
उनले घुमाउरो पारामा बाहिर सरकारको विरोध गरे जस्तो गरे पनि सरकारको असंवैधानिक कदमको खुलेर विरोध गर्न नसकेको आरोप स्वयम कांग्रेसका नेताहरुले नै लगाउँदै आएका कुरा स्वीकार गरेका थिए । अहिले कांग्रेस सशक्त प्रतिपक्षको भूमिका निभाउन नागरिकले जिम्मेवारी दिए पनि सभापति शेर बहादुर देउवा राजनैतिक लाभको मौका हेरेर बसेको चर्चा राजनीतिक वृत्तमा चलेको सन्दर्भमा महरले यसलाई सामान्य रुपमा लिनु पर्ने बताए ।









