उदयपुर / संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामप्रसाद रिजालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई चुनावमा भाग लिएर राष्ट्रप्रमुख बन्न चुनौति दिएका छन् । ससफो उदयपुर जिल्ला समितिको १०औं बैठकमा उनले सो कुरा बताएका हुन् ।
पूर्व राजा शाहले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता आन्दोलनबाट प्राप्त उपलब्धिहरु मास्ने गरी चलखेल गर्न थालेकाले आगामी निर्वाचनबाट राष्ट्रप्रमुख बन्न चुनौति दिएका छन् । राजा जनता सामु आउन खोजेको चाहेको भए पार्टी खोलेर जनताबाट निर्वाचित भएर प्रधानमन्त्री वा राष्ट्रपति बनेर देखाउन चुनौति उनले दिए । जनताको बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त गणतन्त्र र संविधानको विरुद्धमा चलखेल गर्ने अधिकार पूर्व राजालाई नभएको उनले प्रष्ट पारे ।
रिजालले भने, ‘पूर्वराजाले खुलेआम गणतन्त्र, धर्मनिरपेक्षता विरुद्ध चलखेल गरिरहेका छन्, यसकारण सरकारले पक्राउ गरी जेल हाल्नुपर्छ ।’ उनले वर्तमान नेकपाको सरकारले पूर्वराजालाई जेल नहाल्ने हो भने गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता मास्नका लागि नेकपाको पनि सहमति भएकोजस्तो देखिने बताए । ‘नत्र कांग्रेस, नेकपा र राजावादीहरु मिलेर प्राप्त उपलब्धि मास्न खोजेको देखिन्छ,’ उनले भने, ‘होइन भने कम्युनिष्ट सरकार चुप लागेर बस्न हुन्न ।’
उनले पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई तराईका सिके राउतको खुलेर विरोध गर्न आग्रह समेत गरे । संघीय फोरम विखण्डनकारीको विपक्षमा खरो रुपमा उभिने र तराईदेखि पहाड र हिमालसम्मका सबै जाति र समुदायको न्याय र समानताका लागि लड्ने पार्टी भएको रिजालको भनाइ छ ।
जिल्ला अध्यक्ष सिद्धान्त राईको अध्यक्षतामा भएको उक्त बैठकमा पार्टीका प्रदेश नं १ का सदस्य गणेश राई, हस्तशोभा राई, रिता राई लगायतको उपस्थिति थियो । बैठकको सञ्चालन भने जिल्लाका उपसचिव सुवास राईले गरेका थिए ।

तपाईको प्रतिक्रिया