उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के मस्जिद आसपासका ६९ स्थानीयको थ्रोट स्वाब परीक्षण गरी कोशी अस्पताल पठाएकोमा ८ जनामा कोरोना पोजिटिभको आशंका गरिएको छ । मस्जिद टोलका ८ जनालाई कोरोनाको पुनः परीक्षणका लागि मंगलबार धरान लगिएको छ ।गत आइतबार स्वाब संकलन गरेका ६९ जनामध्ये उनीको पीसीआर परीक्षण गर्दा शंकास्पद देखिएको भन्दै नयाँ स्वाब संकलन गरी पुनः परीक्षण गर्न उनीहरुलाई धरान लगिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुर स्रोतले जनाएको छ ।
विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट गएको स्वास्थ्यकर्मीको टोलीले आइतबार १३ जना संक्रमित भेटिएको भुल्केस्थित मस्जिद परिपरीका मुस्लिम बस्तीका ६० जना र अन्य ९ जनाको स्वाब संकलन गरेको थियो ।
कोसी अस्पतालस्थिल ल्याबमा परीक्षणका क्रममा ८ जनाको स्वाबको कोरोना भाइरस शंकास्पद भेटिएको भन्दै पुनः परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको स्रोतले जनाएको छ ।
उनीहरुको विराटनगरमा गरिएको पीसीआर परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको जानकारी प्राप्त भएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए ।
स्थानीय अनुसार प्रहरीसहित पुगेको स्वास्थ्यकर्मीको टोलीले चारचार जनाका दरले दुईवटा एम्बुलेन्समा राखेर उनीहरुलाई धरान पठाइएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विराटनगरको कोसी अस्पतालमा परिक्षणका क्रममा रिपोर्ट पोजेटिभ आए भेरिफिकेशनका लागि धरानमा पुनस् परीक्षण गर्न सकिने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम विराटनगरबाट स्वाबका नमूना पुनः परीक्षणका लागि धरान पठाइएको जनाइएको छ ।

मस्जिदमा आएका १२ भारतीय र ४ नेपाली गरी १६ जनामध्ये ११ भारतीय र २ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पुष्टि भएका १३ जनालाई नै विराटनगरस्थित कोरोना उपचार केन्द्रमा भर्ना गरिएको छ भने बाँकी ३ जनालाई बिराटनगरकै टाँडी स्थित क्वारेन्टाइनमा राखिएको छ ।

तपाईको प्रतिक्रिया