उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाका जनप्रतिनिधि राहत बोकेर विपन्नको घरघरै पुग्ने भएका छन् । मजदुरी गर्न नपाएर खाने खर्च जुटाउन नसकेका मजदुरले दाल चामल पाएका छन् । कोरोना भाइरसको आक्रान्तले देश नै लकडाउनमा रहेको अवस्थामा दैनिक गुजारा गर्दै आएका मजदुरहरुलाई राहत वितरणको काम त्रियुगा नगरपालिका २ बाट शुरु गरिएको हो । त्रियुगा नगरपालिकाले त्रियुगा नगर कोष नै खडा गरेर दाल चामल वितरण थालेको हो ।
त्रियुगाका विपन्न परिवारको लगत संकलन टोल विकास संस्थामार्फत वडा कार्यालयले गरेका छन् । प्रतिपरिवार १० किलो चामल, एक किलो दाल, एक किलो नुन र एक पोका तेल त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी र उपमेयर देवी कुमारी चौधरीले संयुक्त रुपमा वितरण गरेको थियो । विपन्न परिवारको संख्या १२ हजार हाराहारीमा हुने अनुमान नगरपालिकाले गरेको छ । नदी बगर क्षेत्रमा बसेकाहरू मजदुरी गर्दै गुजारा चलाउने मुसहर, अतिविपन्न परिवारलाई राहत वितरण गरेको नगर प्रमुख चौधरीले जानकारी दिए ।
ती परिवारमा चार दिनमै भण्डारण गरिएको अन्न सकिएको छ भने मजदुर गर्न पाएका छैनन् । विपन्न परिवारको घर–घरमै पुगेर राहत वितरण गरिँदै छ । राहत पाएका मजदुर परिवार हर्षित भएका छन् । ‘घरमै आएर दालचामल दिँदा त भगवान् आएजस्तै भयो, त्रियुगा नगरपालिका २ का शैनी मुसहरले भने, ‘बल्ल सरकार भएजस्तो लाग्यो ।’
ज्याला मजदुरी गर्ने र विपन्नको क, ख, ग श्रेणी विभाजन गरेर राहत वितरण गर्ने काम गरिरहेको त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरीले बताईन् । उनका अनुसार पहिलो चरणमा १ सय क्विन्टल चामल, १० क्विन्टल दाल, १० क्विन्टल नून लगायत तेलसम्मको व्यवस्थापन गरेको र पछिल्लो चरणमा थप गर्दै जाने बताईन् । उनका अनुसार त्रियुगा नगरपालिकाले कोरोना विपद राहत कोष नै खडा गरेर राहत वितरण गरिरहेका छौं ।
त्रियुगा नगरपालिका २ का वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार १ सय २२ जना दैनिक मजदुरी गर्ने र अतिविपन्न परिवारलाई राहत वितरण गरेको जानकारी दिए । उनका अनुसार यस वडामा राहत पाउने अधिकांश मुसहर समुदायका रहेका थिए ।
त्रियुगा नगरपालिले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई काममा लगाउने निर्माण व्यवसायी, उद्योगधन्दा, ठेकेदार, घरधनीलाई उचित व्यवस्थापन गर्न पनि अनुरोध गरेको छ ।
नगरका १६ वटै वडामा रहेका विपन्न परिवारको तथ्यांक संकलनको काम अन्तिम चरणमा पुगेको र क्रमशः सवै वडामा राहत वितरण गर्ने नगर प्रवक्ता केदार दनुवारले जानकारी दिए ।
नगरका १६ वटै वडामा रहेका टोल विकास संस्थाहरूले विपन्नहरूको पहिचान गरी वडा कार्यालयमार्फत जानकारी गराएपछि वडाको सिफारिसको आधारमा नगरपालिकाले खाद्यान्न उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
कोषमा विभिन्न संघ संस्था तथा व्यक्तिको सहयोग जुट्दै
विपन्न समुदायलाई राहत वितरणमा संघसंस्था पनि जुटेका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) उदयपुरले त्रियुगा नगरपालिका मेयर बलदेव चौधरीलाई १५ बोरा चामल हस्तान्तरण गरेको छ । उदयपुरमा दैनिक ज्याला मजदुरी गरी खाने गरिब तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गर्न एनप्याब्सनले सहयोग गरेको हो । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि दैनिक ज्याला मजदुरी गरी खाने वर्गका परिवारलाई साँझ–बिहानको छाक टार्न समस्या नहोस् भन्ने उद्देश्यले खाद्यान्न वितरण गरिएको एनप्याब्सन उदयपुरका अध्यक्ष सुमन कुमार चौधरीले जानकारी दिए ।
यस्तै लामो सयमदेखि उदयपुरमा रहेर आफ्नो पेशा व्यवसाय गर्दै आएका राजेश बछारले पनि त्रियुगा नगरपालिकाको राहत कोषमा १ लाख ७ हजारको चेक नगर प्रमुख बलदेव चौधरी र उपप्रमुख देवी कुमारी चौधरीलाई संयुक्त रुपमा हस्तान्तरण गरेको छ ।
यस्तै त्रियुगा राहत कोषमा नेकपा प्रदेश न.१ प्रदेश कमिटी सदस्य तथा रौता गाउँपालिकाका प्रमुख सल्लाहकार अम्मर रायमाझीले पनि २५ हजार सहयोग गरेका छन् ।

तपाईको प्रतिक्रिया