काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सरकारले घोषणा गरेको लक डाउनको उल्लंघन गर्ने र तोकिएअनुसार क्वारेन्टाइनमा नबस्नेलाई जेल हाल्ने निर्णय सरकारले गरेको छ।
आइतबार बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले संक्रामक रोग ऐन २०२० अनुसार लक डाउन लागू गरिएको हुँदा त्यसको उल्लंघ गर्नेलाई पनि सोही ऐन बमोजिम कारबाही गर्ने निर्णय गरेको हो।
लक डाउनको उल्लंघन गर्ने र स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले भनेअनुसार क्वारेन्टाइनबाट भाग्ने क्रम बढेपछि समन्वयन समितिले कानुनी दायरामा ल्याउने भएको छ।
समितिको निर्णयबारे जानकारी गराउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भने, ‘लक डाउनको उल्लंघन गर्ने, क्वारेन्टाइनमा बस्न नमान्ने, माग्ने, लुकरेर आफूखुशी बस्नेलाई संक्राक रोग ऐन बमोजिम कैद गर्ने निर्णय गरेका छौं।’ उक्त ऐनअनुसार सरकारको निर्देशन नमान्नेलाई एक महिना कैद वा एक सय रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
यस्तै समितिले कोभिड १९ को संक्रमणबाट बच्न एक हप्ता लक डाउन थप्ने भएको छ। समन्वयन समितिको बैठकमा लक डाउनको अवधि बढाउने विषयमा सबै मन्त्रीहरु सहमत भए पनि विषयमा मन्त्रिरिषद्ले निर्णय गर्ने भएको हो। मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।









