उदयपुर । त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार भगतलाई अध्यक्षकै हैसियतमा कामकाज गर्ने दिएको उच्च अदालत विराटनगरको अन्तरिम आदेश खारेजीको माग राख्दै प्रथम उपाध्यक्ष रमेश रसाइली, द्वितिय उपाध्यक्ष हस्तमाया राई सहितले दिएको भ्याकेट निवेदन खारेज भएको छ ।न्यायाधीशहरू राजन कुमार भट्टराई र किरण कुमारी गुप्ताको संयुक्त इजलासले हस्तमाया राई सहितका भ्याकेट निवेदनहरूमाथि एकमुष्ट सुनुवाइ गर्दै अन्तरिम आदेश खारेज गर्ने सम्बन्धी माग अस्वीकार गरेको हो । न्यायाधीशद्वयको इजलाशले अन्तरिम आदेश बदर नहुने आदेश गरेको इजलास अधिकृत ओम प्रकाश पोखरेलले जानकारी दिए ।

यस अघि त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार भगत विरुद्ध प्रथम उपाध्यक्ष रमेश रसाईली समूहको ‘कु’ लाई उच्च अदालत विराटनगरको न्यायाधीश सत्य मोहन जोशी थारुको एकल इजलाशले उल्टाई दिएको थियो । साउन ८ गते भगतद्धारा दायर रिट निवेदनको सुनुवाइ गर्दै उच्च अदालत विराटनगरका न्यायाधीशले अध्यक्षबाट भगतलाई नहटाउन अन्तरिम आदेश दिएको थियो ।

तपाईको प्रतिक्रिया