गाईघाट । त्रियुगा उद्योग वाणिज्य संघको विवाद झन झनै उत्कर्षमा पुगेको छ । समस्याको सामाधान गर्नुको साट्टो झन झन बढ्दै गएको छ । प्रारम्भिक लेखा परीक्षण प्रतिवेदनको आधारमा त्रियुगा उद्योग वाणिज्य संघको अध्यक्ष गजेन्द्र कुमार भगतलाई कारबाही गरि प्रथम उपाध्यक्ष रमेश रसाइलीलाई कार्यबहाक अध्यक्ष बनाईएको छ ।

रसाइलीले आफ्नो पदको दुरुपयोग गरी भुतपूर्व अध्यक्षद्वय रामचन्द्र गुप्ता र सूर्य नारायण साह, भूतपूर्व प्रथम उपाध्यक्ष भरत सिंह राई, भूतपूर्व महासचिव बसन्त बस्ने र भूतपूर्व सचिव केशव घिमिरेलाई सल्लाहकार समितिमा मनोनयन गरेको छ । प्रारम्भिक लेखा परीक्षण प्रतिवेदनकै आधारमा अध्यक्ष भगतलाई कारबाही गरि प्रथम उपाध्यक्ष रसाइलीलाई अध्यक्ष बनाइएको छ ।

आई एम राउत एशोसियटसका अडिटर ईश्वरमणि राउतको प्रतिवेदनमा लेखिएका छ, ‘प्रारम्भिक प्रतिवेदनमा देखाईएका टिक्का टिप्पणी अनुसारका खाता पाता विल भरपाई र आम्दानी खर्चको कागजातहरु आधिकारिक पदाधिकारीहरुबाट सही छाप नगरेको र प्रमाणित समेत नभएको हुँदा उक्त प्रतिवेदनलाई अन्तिम लेखापरिक्षण प्रतिवेदनको रुपमा स्वीकार गर्न नसकिने व्यहोरा अनुरोध छ । यस प्रतिवेदनलाई कार्यसमितिको छलफल र निर्णय नगराई साईन गरी खाता पाता बिल भरपाई र आय व्यय प्रमाणित नगरी कही कतै पेश गरे, सो को कानूनी जटिलताको सामना व्यावस्थापन पक्षले नै गर्नु पर्ने व्यहोरा अनुरोध छ ।’ अडिटर राउतले भने ‘प्रारम्भिक लेखा परीक्षण प्रतिवेदन तयार पारेको मितिले अन्तिम लेखा परीक्षण प्रतिवेदन दिन कम्तीमा ३५ दिन लाग्छ अर्थात असार १५ गते प्रारम्भिक प्रतिवेदन दिएको छु भने अन्तिम लेखा परीक्षण प्रतिवेदन दिने अधिकार मसँग सुरक्षित छ र मैले अन्तिम लेखा परीक्षण प्रतिवेदन दिएको छैन् ।’

‘अन्तिम लेखा परीक्षण प्रतिवेदन नदिएकोले अहिले जुन एक अर्काले दावी गरेको लेखा प्रतिवेदन कहि कत्तै पेश गर्न पाउँदैन र पेश गरेको खण्डमा अवैध ठहरिनेछ ।’ अडिटर राउतले भने, ‘मैले लेखा परीक्षण प्रतिवेदन ठिक बेठिक छ छैन, थप घट गर्नु पर्ने, शंका उपशंका भए हेर्न दिएको छु कुनै निकायमा पेश गर्न होइन, पेश गरेको पाइएमा त्यो अवैध ठहरिने छ । अवैध प्रतिवेदन मैले जुनसुकै बेला पनि खारेज गर्न सक्ने अधिकार मसँग सुरक्षित छ ।’

प्रारम्भिक लेखा परीक्षण प्रतिवेदनका आधारमा प्रथम उपाध्यक्ष रसाइली पक्षले जिल्ला प्रशासन कार्यालय उदयपुरमा संस्था नविकरण गरेको स्रोतले जनाएको छ भने आन्तरिक राजश्व करदाता सेवा कार्यालय गाईघाटमा पनि प्रारम्भिक लेखा परीक्षण प्रतिवेदन पेश गरेको छ ।

गत वर्षदेखि नै साधारण सभा गर्ने भनिएपनि कोरोनाका कारणले पटक पटक स्थगित हुँदै आएको छ । २०७८ बैशाख १५ गते सम्म सदस्यता दर्ता र नविकरणको काम गर्ने, २०७८ जेष्ठ ८ गते संस्थाको साधारण सभा गर्ने र जेष्ठ १५ गते अधिवेशन गर्ने कार्यतालिकाका सार्वजनिक गरिएपनि कोभिड १९ को महामारीका कारण स्थगित गर्नु परेको थियो ।यस्तै प्रथम उपाध्यक्षको टिमले असार २३ गते बैठक माग माग गरि त्रियुगा उद्योग वाणिज्य संघमा निवेदन दर्ता गरी निवेदनसँगै लिएर गएको कार्यालय लेखापाल संजिव श्रेष्ठले लेखेर दिइएको छ । रसाइली पक्षले निवेदनमा के लेखेको थियो भन्ने कहि कत्तै उल्लेख छैन् ।

यता अध्यक्ष भगत आफ्नो अधिकार स्थापित गर्न अदालत जाने भएको छ । उनका अनुसार अदालती प्रक्रियाका लागि राज सुझाव सहित डकुमेन्ट जुटाएर एक दुई दिन भित्रै अदालत जाने बताए ।

थप सम्बन्धित समाचार

त्रियुगा उद्योग वाणिज्य संघको विवाद छताछुल्ल

तपाईको प्रतिक्रिया