उदयपुर / सनपाटको सन्ठी नहुँदा थारु समुदायमा लक्ष्मी पुजाको दिन खेलिने हुके हुक्का खेल लोप हुन अवस्थामा पुगेको छ । सनपाटबाट निर्मित हुके हुक्का थारु समुदायले केहि बर्ष अगाडि सम्म खेलेपनि पछिल्लो समयमा युवा पुस्ताहरुले यसको संरक्षण नगर्दा लोप हुँदै गएको हो ।
पछिल्लो समयमा सनपाटको उत्पादन नगर्ने र लगाएको सनपाटले बजारभाउ नपाउदा कृषकहरुले सनपाट लगाउन छोडेपछि सन्ठीको अभावमा यो खेल लोप भएको थारु पण्डित बासुदेव चौधरीले बताए । सनपाठ गोड्ने ताल तलैया र व्यवस्थीत पोखरीको अभावमा पनि यसको खेती गर्न छोडिएको त्रियुगा नगरपालिका–३, मोतिगडाका किसान शंकर लाल चौधरी बताउँछन् ।
सन्ठी नहुँदा यस वर्ष कसरी हुके हुक्का खेल्ने स्थानीय वासीहरुको चिन्ता रहेको छ । गत वर्ष हुके हुक्का खेल्नको लागि अन्यत्र जिल्लाबाट सन्ठी ल्याएर हुके हुका खेलेको त्रिनपा–३ का बस चालक सरोजकुमार चौधरीले बताए । उनले भने, ‘गत साल सुनसरीको इनरुवाबाट एक भारी सन्ठी किनेर ल्याएको थिए र तर, यस वर्ष सम्भवन हुँदैन ।’
पौराणिक किवदन्ती अनुसार परापूर्वकालदेखि खेल्दै आएको हुके हुक्का एक मुठा सन्ठीमा दुई चारवटा कुचोको सिन्कालाई बावियोले बाधेर यो खेल खेलिन्थ्यो । ‘घरको देउता कोठाको दलिनमा धान, चामल माथि दियो राखी विधिवत पुजा आजा गरी खेल्ने चलन थियो,’ पण्डित चौधरीले भने, ‘तर सन्ठीको अभावले यो खेल लोप भयो ।’
देउता घरको दलिनमा राखेको दियोमा हुके हुक्का बाली थारु शब्दमा “अनधन लक्ष्मी घर ढुक दरिदर बहार हो” अर्थात अन्न धन सहित लक्ष्मी घर पसुन र दरिद्र बाहिर हुन् भन्दै तीन पल्टसम्म मन्त्र पढेर हुके हुक्का सल्काउने गरिन्छ । यसरी सल्कि सकेको हुके हुक्कालाई तीन फेरासम्म देउता घरको चारै तिर घुमि दोवाटो वा खाली चौरमा लगि खेल्ने चलन रहेको छ ।
आगोको राप तापले दरिद्र भाग्ने किदन्ती अनुरुप हुके हुक्काको प्रचलन रहेको र दियो अर्थात हुका बाली लक्ष्मीलाई स्वागत गर्ने मान्यता अनुरुप यो खेल खेल्ने गरिन्छ । यस खेलले केही दिनमा किसानहरुले आफुले लगाएको नयाँ अन्नबाली भित्राउने दिन आयो भनेर संकेक्त गर्ने गर्दछ ।
नयाँ अन्नबाली राम्ररी सप्रियोस भनी हुके हुक्काको बल्न बाँकी एक भाग जम्मा पारी दोवाटोमा जलाउने र बलेको आगोमा तीन पटक सम्म नाघेर आ–आफ्नो घर जाने चलन रहेको छ । एउटा एउटा जलेको हुके हुक्का खेत वा बारीमा लगाएको अन्नबालीमा गाड्ने चलन समेत रहेको छ । तिनै बलेको एउटा हुके हुक्काको ठुटाले दरिद्र वा कुनै किसिमको छोइछुत नलागोस भन्दै ल्याउने गरिन्छ ।