उदयपुर । उदयपुरमा लामखुट्टेको टोकाइबाट हुने डेंगुु संक्रमणका बिरामीको संख्या दिनानु दिन बढेको छ । हालसम्म जिल्लामा ५१ जना डेंगुका विरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

२२० जनालाई चेकजाँच गर्दा ५१ जनामा डेंगू देखिइएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका फोकल पर्सन लौकाजी राईले जनाएको छ । त्रियुगा र बेलका नगरपालिकामा २१÷२१ जनामा डेंगू देखिएको छ भने चौदण्डीगढी नगरपालिकामा ६ जना र कटारी नगरपालिकामा ३ जनामा डेंगू देखिएको छ ।

उदयपुरमा डेंगु लगायत ज्वरोका दैनिक १०० बढी बिरामी जिल्ला अस्पताल तथा निजी अस्पतालमा उपचारका लागि आउने गरेको छ । यस्तो अवस्थामा उदयपुर सरकारी अस्पतालमा डेंगु जाँच्ने कीटको अभाव हुँदै गएको छ ।

स्वास्थ्य कार्यालय उदयपुरका फोकल पर्सन राईका अनुसार प्रदेशबाट १५० थान डेंगू जाँच्ने किट पठाएकोमा लगभग सकिएको छ । पुनः किट माग गरेपनि अहिलेसम्म आई नपुगेको बताए । यस्तै पालिकाहरुका स्टोक रहेका किटहरु पनि सकिएको छ ।

उदयपुरको सदरमुकाम गाईघाटमा डेंगुबाट बच्न सरसफाइमा जोड दिनु पर्ने तर यस्तो नदेखिएको सर्वसाधारणको गुनासो बढ्दै गएको छ । त्रियुगा नगरपालिकाले डेंगू नियन्त्रण गर्न फगिङ मेसिन प्रयोग गरेको जनाएको छ ।

यस्तै बेलका नगरपालिकामा पनि डेंगूको विरामीको संख्यामा वृद्धि भएपनि डेंगू परीक्षण गर्ने किट अभाव भएको स्वास्थ्य शाखाले जनाएको छ ।

जताततै संक्रमण देखिन थालेपछि पनि बच्ने उपायबारे जनस्वास्थ्य, अस्पताल र स्थानीय तहहरुले सर्वसाधारणलाई सचेत गराउन कार्यक्रमहरु संचालन गर्न सकेको छैनन् ।

यस्तै चौदण्डीगढी नगरपालिकामा पनि डेंगू परीक्षण गर्ने किट अभाव भएको छ । किट अभाव भएपनि अहिले डेंगू विरामी चेकजाँचको लागि जिल्ला अस्पताल नै पठाउने गरेको स्वास्थ्य शाखाले जनाएको छ ।

डेंगुको जिवाणु लामखुट्टेको टोकाईबाट संक्रमण हुने भएकाले लामखुट्टेबाट बँच्ने उपाय अपनाउन चिकित्सकले सुझाव दिएका छन् । लामखुट्टेले पानीमा फुल पार्ने भएकाले पानी जम्न नदिन, पाइप र नालीहरु सफा गर्न तथा पानी जमेको ठाउँमा नियमति औषधि छिट्न र पुर्न उनीहरुको सल्लाह छ । स्वास्थ्य कार्यालयका फोकल पर्सन राईले डेंगुबाट बँच्न लामखुट्टेको टोकाईबाट बँच्नु नै उत्तम र सुरक्षित उपाय भएको बताए ।

जिल्ला अस्पतालका प्रमुख डा. ज्ञानेन्द्र झाले फाटफुट देखिएपनि अहिले विरामीको संख्यामा वृद्धि भएको बताए । सुरुवाती चरणमा ज्वरो आउने र सातादिनसम्म निको नभएपछि उपचार गर्न आउनेमा डेंगु देखा परेको अस्पताल प्रशासनले जनाएका छन् ।

डेंगुबाट बँच्न किटनासक औषधियुत्तः झुल प्रयोग गर्नु उत्तम हुने डा. झाको सल्लाह छ । ‘यो रोग लामखुट्टेबाट सर्ने भएकाले यसबाट बँच्न लामखुट्टेको टोकाईबाट बँच्नु नै उत्तम उपाय हो’ डा. झाले भने ‘त्यसका लागि लामखुट्टे जन्मन र हुर्कन नदिन घर वरिपरी पानी जम्न दिनु भएन। टोकाईबाट बँच्न झुल अनिवार्य लगाएर सुत्ने गर्नुपर्छ । सकेसम्म किटनाशक औषधियुक्त झुल लगाएर सुत्नु सुरक्षित हुन्छ ।’

कटारी नगरपालिकामा डेंगी संक्रमणबाट साउन १० गते २९ वर्षिय एक पुरुषको मृत्यु भएको जनाएको हो । कटारी बस्ने पुरुषको हिप ज्वाइन्टको शल्यक्रिया पछि ज्वरो आएर जाँच गर्दा डेंगी पोजिटिभ देखिएको थियो ।

तपाईको प्रतिक्रिया