उदयपुर । उदयपुरका एक युवा उद्यमीले गत बुधबार दिउँसो करिव ५ बजे रौतामाई गाउँपालिका ५ धोद्रेका अग्नी पीडित भुपराज राईको परिवारलाई खाद्यन्न, भाडाकुडा तथा लताकपडा वितरण गरेको छ । त्रियुगा नगरपालिका ३ मोतिगडाका गिरीबन्धु प्लाष्टिक रिसाइकलिङ्ग उद्योगका संचालक तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ १ नं. प्रदेश सदस्य युवा उद्यमी प्रदिप गिरीले अग्नी पीडितलाई राहत वितरण गरेको हो । 
राईको फुसले बनेको घरमा आगलागीबाट घर भित्रका लत्ताकपडा, अन्नपात र नगद सहित सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि युवा उद्यमी गिरीले व्यक्तिगत रुपमा अग्नी पीडित परिवारलाई राहतका रुपमा खाद्यन्न, लताकपडा तथा भाडाकुडा वितरण गरेका हुन् । उद्यमी गिरीले एक कार्यक्रमका विच रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्का र सोही वडाका वडाध्यक्ष पाण्डोव राई लगायतको उपस्थितिमा अग्नी पीडित राईलाई राहत वितरण गरेका हुन् ।
राहत स्वरुप दाल, चामल, पिठो, आलु, नून, तेल, सावुन, चाउ चाउ, भुजिया, विस्कुटको साथै बाल्टीन, कराई, थाल, बटुवा, गलास समेत वितरण गरेका थिए । युवा उद्यमी गिरीले अग्नी पीडित परिवारका सदस्यहरुका लागि ओढ्ने ब्लाङ्केट, लगाउने लुगा ज्याकेट, सर्ट पाईन्ट लगायत उपलब्ध गराइएको वडाध्यक्ष पाण्डोव राईले जानकारी दिए । उनका अनुसार दानविरलाई हाम्रो वडाको तर्फबाट धन्यवाद बाहेक अरु केही दिन नसकेको बताए ।
दानविर गिरीका भने, ‘मैले मेरो मेहनतको कमाईको केही प्रतिशत दान गर्ने लक्ष्य बमोजिम दुःख पाएका दिनदुःखी, अग्नी पीडित, घरबार नभएका व्यक्तिलाई दान गर्ने गरेको छु ।’ यस अघि पनि जिल्ला तथा जिल्ला बाहिरका विभिन्न ठाउँमा अग्नी पीडित, बाढी पीडित र भुकम्प पीडितलाई व्यक्तिगत रुपमा राहत वितरण गरेका थिए ।









