उदयपुर । सुनसरी कोशी गाउँपालिका ७ हरिपुर चोकमा शनिबार राति १२ः२० बजेको समयमा ट्रक र एम्बुलेन्स एक आपसमा ठक्कर खाँदा उदयपुर त्रियुगा नगरपालिका १० का एकै परिवारका ५ जना र चालक सहित ६ जनाको घटना स्थलमै मृत्यु भएको छ । विराटनगरबाट उदयपुरको गाईघाट तर्फ आउँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई विपरित दिशाबाट गईरहेको ना २ ख ९०८२ नम्बरको ट्रकले ठक्कर दिँदा एम्बुलेन्सका चालक सहित ६ जनाको घटनास्थलमै मृत्यु प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालय प्रमुख भिम दाहालले जानकारी दिए ।
मृत्यु हुनेहरुमा त्रियुगा नगरपालिका १० बस्ने ३४ वर्षिय दुर्गाधन राई, २८ वर्षिय टेकेन्द्र राई, ५० वर्षिय तुल बहादुर राई, ३५ वर्षिय मुकेश राई, ३२ वर्षिय दिनेश राई रहेका छन् । यस्तै एम्बुलेन्स चालक त्रियुगा नगरपालिका १० का २८ वर्षिय राजेश कुमार दनुवारको समेत मृत्यु भएको प्रहरीले जनाएको छ । प्रेसरको विरामी भई गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी ८५ वर्षिय शिवमाया राईलाई घर ल्याउने क्रममा ट्रक र एम्बुलेन्स ठक्कर खाएर दुर्घटना भएको थिथयो ।
जिल्ला प्रहरी कार्यालय,सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माका अनुसार घटनाको प्रकृति हेर्दा दुबै सवारीसाधन तीब्रगतिमा भएको अनुमान गरिन्छ । उनका अनुसार दुबै सवारीसाधन ७०–८० किमी प्रतिघण्टाको गतिमा हुनुपर्ने अनुमान छ । उनका अनुसार ठक्कर खाएपछि उछिट्टिएको एम्बुलेन्स सडकमा उल्टो बजारिएको थियो । मृतकहरूलाई एम्बुलेन्सबाट निकाल्नै ४ घण्टा लागेको शर्माले बताए । सबै लाश जिल्ला अस्पताल ईनरुवाको सब गृहमा राखिएको छ ।









