उदयपुर । उदयपुरमा शुक्रबार भएको सुमो दुर्घटनामा ९ जना घाइते भएका छ भने चार जनाको अवस्था गम्भिर रहेको छ । कटारी नगरपालिका ४ मरुवामा शुक्रवार दिउँसो सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । ना १ ज ३८८६ नम्बरको टाटासुमो आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ओखलढुङ्गाबाट कटारी आउँदै गरेको सुमो सडकबाट पल्टिँदा सुमोमा सवार ओखलढुंगा सिद्धिचरण नगरपालिका ५ का ६७ वर्षीय सन्तबहादुर विश्वकर्मा, सोही ठाउँका ६६ वर्षीय मनमाया विश्वकर्मा, ६६ वर्षीय कर्णमाया विश्वकर्मा र ओखलढुङ्गाकै मोलुङ्ग गाउँपालिका ५ का ५० वर्षीय मैया विश्वकर्मा गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी प्रेमसागर केसीले जानकारी दिए । उनका अनुसार अन्य घाइतेहरु सिद्धिचरण नगरपालिका ५ का ७० वर्षीय तिलमाया विश्वकर्मा, चम्पादेवी गाउँपालिका ५ का ४२ वर्षीय आमा तारा तामाङ र उनकी छोरी १४ वर्षीय सेली तामाङ, सिन्धुली फिक्कल गाउँपालिका ५ का ५५ वर्षीय वीरेन्द्रबहादुर सुनुवार पनि छन् । घाइतेहरुलाई कटारी अस्पताल उपचारपछि विराटनगर रिफर गरिएको कटारी अस्पतालले जनाएको छ । सामान्य घाइते सर्लाहीका सोवित महतोको भने कटारी अस्पतालमै उपचार भईरहेको छ ।
सुमो चालक पदम राईलाई नियन्त्रणमा लिई दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी कटारी नगरपालिका ४ कै पेट्रोल पम्प नजिकैको भएको मोटरसाइकल दुर्घटनामा एक जना घाइते भएका छन् । मरुवाबाट कटारीतर्फ आउँदै गरेको स ८ प २७८४ नम्बरको मोटरसाइकल र स १ ह १०३६ नम्बरको सिटी एक आपसमा ठक्कर खाँदा कटारी नगरपालिका ७ का २० वर्षीय वसन्त मगर घाइते भएका छन् । उनको कटारी अस्पतालमा उपचार भइरहेको छ । सिटी चालक रत्नबहादुर मगरलाई इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएको छ ।









