उदयपुर । उदयपुरको कटारी नगरपालिकाकी उपमेयर भीम कुमारी राउतले जनताको करबाट आफू विलासी सुविधायुक्त सवारी साधन नचढ्ने उदघोष गरेकी छिन् । उनले आफ्नो सेवा सुविधाका लागि सवारी साधन खरिद गर्ने पैसाले एम्बुलेन्स खरिद गर्ने घोषणा गरेकी छिन् ।
कार्यपालिकाले नगर सभा मार्फत उपमेयरको सुविधाका लागि सवारी खरिद गर्ने निर्णय गरेको थियो । महिला तथा बालबालिका र असहायलाई सेवा दिने उद्देश्यले एम्बुलेन्स खरिद गर्ने उपमेयर राउतले बताइन् । उपमेयर राउतले जनताको करबाट आफू विलासी सुविधा नलिने भन्दै गाडीको सट्टा एम्बुलेन्स खरिदको प्रस्ताव राखेको कटारी नगरपालिकाका प्रवक्ता कृष्णराज दनुवारले बताएका छन् । शुक्रवार बसेको कार्यपालिकाको बैठकमा उपमेयर राउतले आफ्नो सुविधाको लागि सवारी गाडी खरिद गर्न विनियोजन गरेको ४० लाखबाट कटारी अस्पतालमा रहने गरी एम्बुलेन्स खरिद गर्ने प्रस्ताव राखेको थियो । प्रस्ताव कार्यपालिकाले स्वीकृत गरेको छ ।
एम्बुलेन्स खरिद गर्ने र कटारी अस्पतालमा सुत्केरी हुने महिलाहरूलाई निःशुल्क घरसम्म एम्बुलेन्सको प्रयोग गर्ने उद्देश्यले आफुले सेवा सुविधा नलिएको उपमेयर राउतले बताइन् । आफू जनताको सेवा गर्ने उद्देश्यले निर्वाचित भएको र जनताको सेवाको लागि आफुले महंगो सवारी साधन नचढ्ने बताईन् । जनताको चाहना अनुसार विकास नभएसम्म विलासी गाडी चढ्नु शोभानिय नहुने उनको भनाई छ । “जनताका समस्यामा छन् बाढी, पहिरोले खेती योग्य जमिन कटान गरेको छ, यो अवस्थामा म कसरी नयाँ गाडी खरिद गर्नु” उप प्रमुख राउतले भनिन् । कटारी अस्पतालको एम्बुलेन्स बिग्रिएर बसेको १ वर्ष बढी भयो बनाउन खर्च बढी लाग्ने भए पछि एम्बुलेन्स विहिन बनेको हो । जनतालाई सहज होस् भनेर नगरपालिकाले आफू चढ्न खरिद गर्न लागेको सवारी साधन एम्बुलेन्स खरिद गर्न प्रस्ताव स्वीकृत गराएको उपमेयर राउतले बताईन् ।
एम्बुलेन्स खरिद गरी बाँकी रहेको रकमले पर्यटकीय क्षेत्र बेतेनीमा अधुरो रहेको पर्यटन भवन पुरा गर्ने गरी बजेट समेत विनियोजन गर्ने निर्णय गरेकोे छ । “जनता गरिबीको रेखामुनि छन्, खान पुग्ने अवस्था छैन, गरिबीका कारण घरमै सुत्केरी हुनु पर्ने अवस्था छ, हामीले लाखौको गाडी चढ्ने अवस्था छैन” उपमेयर राउतले भनिन् । हाल उपमेयर राउतले नगरपालिकामा स्थानीय निकाय निर्वाचन अघि नै रहेको पूरानो सवारीसाधन मर्मत गरेर प्रयोग गरिरहेकी छन् ।









