उदयपुर – उच्चतम प्रविधिको उपयोग गर्दै एक अर्बभन्दा बढी रुपैयाँ ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहका ७ सदस्यलाई उदयपुर प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ परेकामा भारत उत्तराखण्ड राज्यको राज्य पौडी गढवाल, एमकेश्वर ब्लक घर भएका ३६ वर्षीय आई.टी.इञ्जिनियर प्रवीण भट्ट र विराटनगर महानगरपालिका ६ घर भएका आई.टी इन्जिनियर हेमराज साह हुन् । ठगी गर्ने सवैलाई बुधबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका छन् ।
त्यसैगरी गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका अन्य अभियुक्तहरुमा सप्तरी विष्णुपुर गाउँपालिका २, सिम्राहाका आई.टी. इन्जिनिर पढ्दै गरेका निरजकुमार साह, राजविराज नगरपालिका १, डुम्रीका २५ वर्षीय डम्बर साह, गुल्मीको इस्मा गाउँपालिकाका ५ बस्ने ३२ वर्षीय धु्रव थापा, झापाको झापा गाउँपालिका १, बेलौतीबारीका ३१ वर्षीय बरजहान सेख र कलैया उपमहानगरपालिका वडा नम्बर २० बसन्तपुरका २३ वर्षीय रुस्तम मन्सुरी पनि हुन् ।

अभियुक्तहरुले विभिन्न प्रविधि, फेसबुक, मेसेन्जर, भाइवर, ह्वाट्सअप लगायत सामाजिक सञ्जाल उपयोग गर्दै विभिन्न व्यक्तिबाट एक अर्ब नौ करोड रुपैयाँभन्दा बढी ठगी गरेको खुलेको छ । उनीहरु विरुद्ध उदयपुर कटारी नगरपालिका ४ की ३६ वर्षीय सरिता तामाङले ठगीको उजुरी दिएकी थिइन् ।

तामाङलाई गुडनेस इजरायल नामको फेसबुक म्यासेन्जरबाट सम्पर्क गरी साथी बनाई कुराकानी गर्दै प्रभोलनमा पारेर ठगेका थिए । शुरुमा साथीलाई ७० हजारको अमेरिकी डलर बराबरको पार्सल पठाइ दिएकाले एयरपोर्टमा उक्त सामान रोकिएको भन्दै फोटो पठाइएको थियो । जतिसक्दो छिटो सामान लिनको लागि विमानस्थलको भन्सारमा कर तिर्नुपर्ने भन्दै एक लाख ३० हजारभन्दा बढी रुपैयाँ ठगेका थिए ।

प्रहरीले अभियुक्तहरु विरुद्ध अनुसन्धान गर्दै जाँदा पार्सल पठाएको र चिठ्ठा परेको भन्ने प्रचार गरेको, जुवा, हुण्डी कारोबारमा संलग्न भएको प्रमाणबाट खुलेको हो । अभियुक्तहरुले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी सुक्ष्म रुपमा व्यक्तिको आर्थिक हैसियत, सोचाई तथा व्यवहारिक ज्ञानको बुझाइ र भावनात्मक अवस्थाको अध्ययन गरी ठग्दै आएका थिए । साइबर सम्बन्धी ज्ञान भएका ती सबैले फेसबुक, म्यासेन्जर लगायत सामाजिक सञ्जालमार्फत् फ्रेन्ड रिक्वेस्ट पठाउने तथा कल गरेर साथी बनाई प्रभोलनमा पार्ने गरेका थिए । उनीहरु सवैले क्रिस्टो करेन्सीको साथै हुण्डीमा पनि संलग्न रहेको खुलेको एसपी फुयालले पत्रकार सम्मेलनमा बताए । सामान्य व्यक्तिलाई अग्रपंक्तिमा देखाएर मुख्य व्यक्तिहरु भने आफु सुरक्षित बच्ने प्रयास गरेको पनि खुलेको छ ।

अभियुक्त विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ अन्तर्गत ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराध सम्बन्धी कसूरमा म्याद थप भई अनुसन्धान कार्य अघि बढेको प्रहरी प्रमुख ज्ञानेन्द्र फुयाँलले बताए । अभियुक्तहरुलाई इलाका प्रहरी कार्यालयको पहलमा जेठ ९ गते विभिन्न स्थानबाट पक्राउ गरिएको डिएसपी रविन कार्कीले जानकारी दिए ।

उनीहरुलाई सार्वजनिकीकरणपछि नागरिकलाई अपरिचित व्यक्तिले पठाएको फ्रेन्ड रिक्वेस्ट एसेप्ट नगर्न, सामाजिक सञ्जाल प्रयोग गरेपछि लगआउट गर्न, पासवर्ड र पीनकोर्ड सेयर नगर्न, समय समयमा परिवर्तन गर्न र विशेषगरी भारतको कोड नम्बर ं००९१ र पाकिस्तानको ं००९२ बाट आएको फोन कललाई शंकास्पद मान्ने, नबुझी लिंकमा क्लिक नगर्ने, बैंकको ओटीपीहरु अरुलाई सेयर नगर्न र सामाजिक सञ्जालमा आफ्नो मुभमेन्टहरु सेयर नगर्न अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया