हामी सरस्वती पूजा मनाउँछौं । पूजआजा गर्छौं । सरस्वतीको तस्विर पनि देखेका छौं । त्यसको अर्थ के होला ? सरस्वती स्वरुपले के अर्थ राख्छ ?

श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सवोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला र चौथो हात अभ मुद्रामा रहेकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख छ ।

उनको प्रतिकात्मक चित्र, वहान, हातमा लिएका वाद्ययन्त्र सबैले खास अर्थ बोक्छ ।

जीवनको माधुर्य

उनले हातमा लिएको विणाबाट के पनि बुझिन्छ भने, जीवन धुन हो । यो मधुर हुनुपर्छ । लयवद्ध हुनुपर्छ । कलाले जीवनलाई संगीतमय बनाउँछ ।
पुस्तकले विद्याको र मालाले निष्ठा र सात्विकताको वोध गराउँछ ।

जीवनको सौन्दर्य

सरस्वतीको तस्विरसँगै मयुर देखिन्छ । मयुर सरस्वतीकी वहान हुन् । मयुरालाई सौन्दर्य एवं मधुर स्वरको प्रतिक मानिन्छ । विद्यानै मानिसको सौन्दर्य हो ।

आज सरस्वतीपूजा

मौसमी चक्र अनुसार बर्षभर नै विभिन्न चाडपर्व आउने गर्छ । यी पर्वले हाम्रो जीवनमा उल्लास मात्र ल्याउँदैन, खास अर्थ पनि राख्छ । कुनै न कुनै पर्व मनाउनुको पछाडि त्यसको सामाजिक तथा वैज्ञानिक महत्व हुन्छ ।

आज, सरस्वती पूजा ।

यसलाई हामी ‘बसन्त पञ्चमी’ भन्छौं । ‘श्रीपञ्चमी’ भन्छौं । ज्योतिष विज्ञान अनुसार कुनैपनि शुभ कार्य थालनीको लागि यो राम्रो साइत हो । त्यसैले यस दिन राम्रो काम प्रारम्भ गर्न अतिरिक्त साइत हेराइरहनुपर्दैन ।

त्यसैले त, यस दिन साना बच्चाहरुलाई अक्षर लेख्न सिकाइन्छ । अर्थात अक्षराम्भको उपयुक्त अवसर मानिन्छ, सरस्वती पूजालाई ।

किन मनाउने ?

हामीकहाँ बर्षभर मूख्य तीन देवीको पूजा मनाइन्छ । लक्ष्मी, दुर्गा र सरस्वती । लक्ष्मी धनकी देवी । दुर्गा शक्तिकी । सरस्वती विद्याकी ।

वास्तवमा यी प्रतिकात्मक देवी हुन् । अर्थात जीवनमा पूर्णता हासिल गर्नका लागि हामीसँग तीन चिजको खास महत्व हुन्छ, धन, विद्या र शक्ति ।
आज विद्याकी देवीको पूजा गरिने दिन । विद्या/ज्ञान/शिक्षा वास्तवमा त्यही चिज हो, जसले जीवनलाई सहज, सफल, संघर्षसिल, संयमित बनाउँछ ।
संगीत, कला, साहित्य एवं विद्याकी देवी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरिन्छ । आजको दिन साना बालबालिकालाई अक्षराम्भ गराइन्छ ।

बोधिसत्व मञ्जुश्री

आजको दिनलाई बौद्ध धर्मावलम्बीले पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीको रुपमा ज्ञानको प्रतिक मानेर पूजाआजा गर्छन् ।

वसन्त आगमनको उल्लास

आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त अर्थात ऋतुहरुको राजा । वसन्तको सुरुवात हुने भएकाले आजनको दिनलाई वसन्त पञ्चमी भनिएको हो ।

कसरी पूजा गर्ने ?

यस दिन बिहान कलश स्थापना गरी गणेश, सूर्य, अग्नी, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ । सरस्वतीलाई नैवेद्यको रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ । सेतो रङ, फूल, चन्दन, शङ्ख पनि चढाइन्छ ।

तपाईको प्रतिक्रिया