नेपालटार – उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका वडा ८ भलायडाँडामा सुविधा सम्पन्न बर्थिङ सेन्टर भवनको उद्घाटन गरिएको छ । भवनमा नियमित उपचार सेवासहित चौबिसै घण्टा सुत्केरी सेवा दिने गरी नवनिर्मित बर्थिङ सेन्टर पनि सञ्चालनमा ल्याइएको छ ।
उदयपुरगढी गाउँपालिकाको १७ लाख ४५ हजार र वानहट वल्डवाईडबाट १७ लाख ५६ हजारको ३५ लाखको लागतमा बर्थिङ सेन्टर निर्माण गरिएको हो । भवन सम्पन्न भएर उपचार सेवा पनि सञ्चालनमा आएपछि सोमबार जिल्ला समन्वय समिति प्रमुख गौरबहादुर विश्वकर्मा र गाउँपालिका अध्यक्ष मान बहादुर केप्छाकी मगरले भवनको उद्घाटन गरे । गाउँपालिका अध्यक्ष मगरले हरेक नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउने चाहना पूरा गर्न स्वास्थ्य चौकी बर्थिङ सेन्टर भवन उपयोगी भएको बताए ।
‘गाउँमै सहज स्वास्थ्य सेवा सञ्चालनका लागि पूर्वाधार मात्र भएर पुग्दैन, सामग्री पनि चाहिन्छ भनेर हामीले चाँडै नै स्वास्थ्य सामग्री सहयोग गर्ने छौँ’, पालिका अध्यक्ष मगरले भन्नुभयोे, ‘स्वास्थ्यकर्मीलाई गाउँमै बस्ने र रमाउने वातावरण दिन पनि हामीले सहयोग गरेका छौँ ।’
यस बर्थिङ सेन्टरबाट हजारौँ महिलाहरुले लाभ लिने समन्वय प्रमुख गौरबहादुर विश्वकर्माले बताए । उनका अनुसार अवका दिनमा प्रसूति गराउन उदयपुरको सदरमुकाम गाईघाटसम्म जाने बाध्यताको अन्त्य भएको बताए । स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सम्मान पनि गरेको थियो ।
बर्थिङ सेन्टर उद्घाटन कार्यक्रममा जनप्रतिनिधिका साथै राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्य कार्यालयका स्वास्थ्य कार्यालय उदयपुरका प्रतिनिधि, स्वास्थ्यकर्मी, प्रमुख प्रशासकीय अधिकृत रमेश राई लगायत कर्मचारीको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया