उदयपुर । सप्तकोशी नदीको वितण्डाले उदयपुरको बेलका नगरपालिकाका बाढी पीडितहरुले धमाधम घर छाड्न थालेका छन् । वेलका नगरपालिकाका २० हजार नागरिक जोखिममा परेका छन् । कोशीले धार परिवर्तन गरेर बेलका नगरपालिकातर्फ पसेको छ । वेलकाका वडा नम्बर १, २, ८ र ९ उच्च जोखिममा छन् ।

महत्वपूण केही सरसामाग्री र वालबच्चाहरु लिएर स्थानीयहरु सुरक्षित स्थान तर्फ जान लागेका छन् । नगरपालिकाले रामपुरका केही विद्यालय वा सुरक्षित स्थानमा उनीहरुलाई राख्न बन्दोबस्त मिलाइएको उपमेयर जिरा राईले बताईन् । आफू सबै सम्पत्ति छाडेर ज्यान जोगाउन भाग्नु पर्ने अवस्था आएपछि स्थानीयहरु भावुक देखिएका छन् । कतिपय वृद्ध नागरिकहरु गहभरी आसु लिएर घरबाट बाहिरिएका छन् भने कति विरामी, अपाङ्ग, हिड्न नसक्नेहरुलाई झोलुङ्गो बनाई सुरक्षित स्थान तर्फ लगिरहेको छ ।
वस्ती स्थानान्तरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले सहजीकरण गरिरहेको छ । बुधबार बेलुका साँझसम्म ४ हजार ७ सय बढीको उद्धार गरिएको सशस्त्र प्रहरी बल ५ नं. गण हे.क्वा. त्रियुगाका गणपति कृष्णराज अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया