गाईघाट । नेपाल प्रहरीलाई जनमैत्री वनाउँदै अपराध नियन्त्रण र शान्ति सुरक्षामा प्रभावकारीता ल्याउने उदेद्दयले हरेक वर्ष नयाँ–नयाँ कार्यक्रमहरु आईरहेका छन् । गाउँ गाउँबाट सर्वसाधारणका गुनासो संकलन गर्ने र यथोचित गुनासो सम्वोधन गर्ने उदेश्यले उदयपुर प्रहरीले जिल्लाभरी ‘प्रहरी कार्य सम्बन्धि सुझाव तथा गुनासो पेटिका’को अवधारणा अगाडि ल्यायो ।
१ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय उदयपुरका कार्यालय प्रमुख बिच भएको कार्यसम्पादन सम्झौता अनुसार ०७८ मंसिर २३ गते ८ वटा पालिका कार्यालय तथा ७५ वटा वडा कार्यालयहरुमा गरि जम्मा ८३ वटा पेटिका राखियो । प्रहरी सेवा प्राप्त नभए, प्रहरी कर्मचारीहरु आफ्नो काम कर्तव्यप्रति उदासिन रही सेवा प्रवाह नगरे, जाहेरी दरखास्त लिन नमाने, झुट्टा उजुरी दर्ता गरे, व्यावसायिक रुपमा अनुसन्धान नगरे, कानून विपरित थुनामा राखे, निर्दोष व्यक्ति पक्राउ गरे, आर्थिक लाभ लिन खोजे, पदीय दुरुपयोग गरी अनावश्यक दवाव दिए, व्यावसायिक ढंगले प्रहरी आचरण व्यवहार नगरे वा आफु जुनसुकै हिसावले पनि अन्यायमा परेको महसुस भए ‘गुनासो पेटिका’ मा गुनासो गर्न सकिने ब्यवस्था छ । तर, ६ महिनापछि ०७९ असार २ गते ति गुनासो पेटिका खोल्दा ८३ वटा गुनासो पेटिकामा जम्मा ४ वटा गुनासो फेला परेका छन् ।
स्थानिय तहका जननिर्वाचित पदाधिकारी, बुद्धिजिबी समेतको उपस्थितीमा पेटिकाहरु खोल्दा ४ वटा सुझाव÷गुनासो प्राप्त भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी सन्तोष आचार्यले जानकारी दिए । आचार्यका अनुसार कटारी नगरपालिका–३ मा ‘मुस्कान सहितको प्रहरी सेवा’ प्राप्त नभएको, सोही नगरपालिका–११ मा वडा कार्यालबाट नागरिकहरुलाई प्रदान गरिने सेवा सुबिधा सन्तोषजनक नभएको, रौतामाई गाउँपालिका–२ को कार्यालयमा वडा सचिवले सेवाग्राहीलाई गर्ने ब्यवहार राम्रो नभएको र सोही गाउँपालिका –७ को मुर्कुची बजार सफा नभएको गुनासो परेका छन् ।

तपाईको प्रतिक्रिया