उदयपुर । त्रियुगा नगरपालिका वडा न.१४ धाप्लाङ बाँजगरामा बुधबारबाट आधारभुत स्वस्थ्य केन्द्र संञ्चालनमा आएको छ । स्वास्थ्य केन्द्र संचालनमा आएसंगै उक्त क्षेत्रका नागरिकमा साधारण स्वास्थ्य समस्या भए सदरमुकाम गाईघाट वा साउने बजार धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।
्आधारभूत स्वास्थ्य सेवा केन्द्र संचालन भएसंगै स्वास्थ्य भवनको नगरप्रमुख बलदेब चौधरीले उद्घाटन गर्नुभएको छ । भवन उद्घाटन गर्दै मेयर चौधरीले आफ्नै गाउँमा हरेक नागरिकको स्वास्थ्यमा पहुँच पुर्याउने उद्देश्यले नगरपालिकाको विभिन्न स्थानमा स्वास्थ्य संस्थाको स्थापना गरिएको बताउनुभयो । त्रियुगा नगरपालिकाको विभिन्न वडामा स्वास्थ्य चौकी बाहेक १५ आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरिएको मेयर चौधरीले बताउनुभयो ।

मेयर चौधरीले नगरको विकासमा यस स्वास्थ्य सेवा केन्द्रले थप एक इटा थप्न सहयोग गरेको बताउनुभयो । अब स्थानीयहरुले गाउँघरमै स्वास्थ्य सुविधा लिन पाउने भन्दै १४ नं वडालाई विषेश धन्यवाद तथा स्थानीयहरुलाई बधाई समेत दिएका थिए ।

यस्तै नगर उपप्रमुख देवी कुमारी चौधरीले पनि यहाँका स्थानीयहरुले अव स्वास्थ्य सेवा गाउँघरमै लिन पाउने भएको हुँदा स्थानीयहरुलाई बधाई ज्ञापन गर्नुभयो । चौधरीले एउटा सानो समस्याको लागि पनि धेरै खर्च गरेर साउने गाईघाट धाउनु पर्ने समस्या हल भएको भन्दै यस स्वास्थ्य केन्द्रले यहाँको जनताहरुलाई पूर्ण सुविधा दिने बताउनुभयो ।

कार्यक्रममा सामाजिक बिकास संयोजक तथा वडा न. १६ का वडा अध्यक्ष मान बहादुर राई सोही वडाका वडा अध्यक्ष कुरुङ राई लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । स्वास्थ्य केन्द्रबाट बाँजगरा, सिम्ले, घिर्लिङ पुङमाङ, धाप्लाङ र खोटाङका स्थानीयले समेत सेवा लिन सक्ने भएका छन् ।

तपाईको प्रतिक्रिया