उदयपुर । उदयपुरको त्रियुगा नगर सरकारले थारु समुदायको महान पर्व मध्येको जितिया पर्वका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्रियुगा नगर सरकारले असोज १३ र १४ गते (आकस्मिक सेवा बाहेक) सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

थारु समुदायको प्रमुख चाड जितिया पर्वको अवसरमा त्रियुगा नगरक्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरीले बताईन् । आकस्मिक सेवा बाहेक नगरपालिकाको कार्यालय र माताहातको कार्यालयहरु बन्द रहने उपमेयर चौधरीले बताईन् ।

खस आर्य समुदायका महिलाले मान्ने तिज पर्व जस्तै थारु समुदायका महिलाका लागि जितिया पर्व महत्वपूर्ण हो । त्रियुगा नगरक्षेत्र भित्र आदिम कालदेखि थारु समुदायको मुख्य बसमोबास भएकोले यस पर्वमा सार्वजनिक विदा दिने निर्णय गरिएको त्रियुगा नगरपालिकाका प्रवक्ता केदार दनुवारले जानकारी दिए । उनका अनुसार असोज ४ गतेको नगर कार्य समितिको बैठकले विदा दिने निर्णय गरेको बताए । जितिया पर्वको अवसरमा त्रियुगा नगरपालिका, माताहतको वडा कार्यालय, स्वास्थ्य संस्थाहरु, संस्थागत तथा सामुदायिक विद्यालयहरु बन्द रहने सूचनामा जनाएको छ ।

यस्तै चौदण्डीगढी नगरपालिकाले एक दिन मात्रै सार्वजनिक विदा दिएको छ । चौदण्डीगढी नगरपालिकाले एक सूचना जारी गर्दै असोज १३ गते विदा दिने निर्णय गरेको छ ।

यस्तै प्रदेश र संघ सरकारको माताहतमा रहने कार्यालय भने विदा नहुने भएको प्रदेश सरकारका एक कर्मचारीले जानकारी दिए ।

उदयपुरका थारू समुदायले यस बर्षको जितिया पर्व आफ्नो भाषा प्रवद्र्धन गरि मनाउने भएको छ । थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिलाउन दवाव मुलक कार्यक्रम गरि मनाउने जनाएको हो ।

थारू कल्याणकारिणी सभाका अध्यक्ष शिवकान्त चौधरीका अनुसार थारू वाहुल्य क्षेत्र रहेको उदयपुर, सिराहा र सप्तरी क्षेत्रमा थारू भाषालाई मान्यता नदिने भाषा आयोगको निर्णय बिरूद्ध दवावमूलक कार्यक्रम गर्ने जनाएको छ ।

यस वर्षको जितिया त्रियुगा नगरपालिकाको वडा नम्बर १३ थरुहट रंगशालामा विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरि मनाइने भएको छ । कार्यक्रममा राष्ट्रिय कलकारहरुले बेजोड प्रस्तुती दिने आयोजकले जनाएको छ । नेपालको चर्चित गायिका अनु चौधरी, गायक नरेश जोगी, कलाकार÷लेखक÷निर्देशक प्रदिप चौधरी जोशी, गायिका अनुमा चौधरी, थारु गायक आरसी चौधरी लगायतको कलकारहरु महोत्सवमा आउने आयोजकले जनाए ।

तपाईको प्रतिक्रिया