उदयपुर । कर छलेर ल्याएको इलेक्ट्रोनिक्स तथा फेन्सी सामग्रीसहित दुई भारतीय व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सामानसहित नियन्त्रणमा लिइएका व्यापारीहरु भारत बिहार सीतामढीका ३५ वर्षीय रामेश्वर सहनी र ३२ वर्षीय रमेश सहनी हुन् ।

आइतबार दिउँसो २ बजेतिर त्रियुगा नगरपालिका ६ लालपत्ता प्रहरी चेक पोष्टले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई सिरहाबाट गाईघाटतर्फ आउँदै गरेको को १ ज ३४४१ नम्बरको विङगरलाई चेक जाँच गर्ने क्रममा समातिएका हुन् ।

आरोपित दुवैले भ्याट बिल नभएको चाईनिज मोबाईल– ४३ थान, उफर–६ थान, कुर्ता सुर्वाल–४७ थान, लेडिज ब्याग–२१ थान, लेडिज पर्स–९ थान गरी अन्दाजी मूल्य ९९ हजार दुई सय ३७ रुपैया बराबरको सामान ल्याएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैलाई आइतबारै आवश्यक कारवाहीको लागि करदाता सेवा कार्यालय गाईघाटमा बुझाइएको प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया