उदयपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले गत आर्थिक वर्ष २०७७÷०७८ मा १ करोड २६ लाख ५ हजार ५ सय राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ को तुलनामा २५ लाख ११ हजार ५ सय बढी राजस्व संकलन गरेको हो ।

ट्राफिक नियम उल्लंघन गर्ने २० हजार ६ सय सवारी तथा चालकलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटर साइकल चालक र त्यसपछि क्रमशः जीप, ट्रक तथा टिफर चालक रहेको जिल्ला ट्राफीक प्रहरी कार्यालयका प्रमुख लिला कुमार श्रेष्ठले बताए ।

ट्राफिक प्रहरी कार्यालयको तथ्याङक अनुसार सवैभन्दा बढी चैत्र महिनामा २ हजार ३ सय सवारी कारबाहीमा परेकाबाट १४ लाख ६ हजार पाँच सय राजश्व उठेको थियो । यसैगरी सवैभन्दा कम जेष्ठ महिनामा ३ सय सवारी कारबाहीमा परेकाबाट २ लाख ४ हजार राजस्व संकलन भएको थियो ।

७ हजार ९ सय ७० मोटर साइकल चालक कारबाहीमा परेको छ । मोटर साइकल चालक कारबाही वापत ५० लाख २५ हजार पाँच सय राजश्व उठेको छ । यस्तै ४ हजार ६ सय एक ट्रक तथा टिफर कारबाही वापत २८ लाख २४ हजार राजश्व संकलन भएको छ । ३ हजार ५ सय ७७ जीप कारबाही वापत २१ लाख ३३ हजार राजश्व उठेको छ । यस्तै १ हजार ७ सय १२ ट्रयाक्टर कारबाही वापत १० लाख ६५ हजार रुपैया राजश्व नेपाल सरकारको नाममा जम्मा भएको छ भने ५ सय ६१ बस कारबाही वापत ३ लाख ४१ हजार पाँच सय राजश्व संकलन भएको छ । यस्तै २ हजार १ सय ४१ अटोबाट ११ लाख ९५ हजार पाँच सय राजश्व संकलन भएको छ ।

कोरोना भाइरसका कारणले लक्ष्य भन्दा कम राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरी प्रमुख श्रेष्ठले भने, ‘हामीले कसैलाई कारबाही गर्नु नै पर्ने भनेर डिउटीमा गएको हुँदैनौं तर, चालक आफैले आफैलाई कारबाही गरेको हो । चालकलाई जनचेतना तथा ट्राफिक नियमका कार्यक्रम दिनदिनै गरिरहेका छौं, एक दिन गर्यो अर्को दिन विर्सिने बानीले धेरै कारबाहीमा परेको हो ।’ उनका अनुसार चालकले एक पल्ट दुई पल्ट माफ पाउँछ तर, त्यही गल्ती बारम्बार गरेको हुनाले कारबाही प्रक्रिया अगाडी बढाएको बताए ।

तपाईको प्रतिक्रिया