उदयपुर । उदयपुरका कृषकलाई ७५ प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. १ को आर्थिक सहयोग र कृषि ज्ञान केन्द्र उदयपुरको समन्वयमा ५० जना कृषकलाई अनुदानको कृषि औजार वितरण गरिएको हो ।
खेतीपाती लगाउने समय सुरु भएसँगै उदयपुरका ५० जना कृषकलाई ७५ प्रतिशत अनुदानमा हाते ट्याक्टर, धान काट्ने रिपर, ब्रसर लगायतका सामग्री वितरण गरेको हो ।

गत वर्ष नै छनौटमा परेका कृषकहरुलाई कोरोना भाइरसको कारणले स्थगित कार्यक्रम यस वर्ष सामग्री हस्तान्तरण गरिएको कृषि ज्ञान केन्द्र उदयपुरका निमित्त प्रमुख महेश चौधरीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७६÷७७ को कार्यक्रमलाई निरन्तरताको दिइएको जनाएको छ ।
उनका अनुसार मिनी टिलर ४१ वटा, ब्रस कट्टर ३ वटा र धान काट्ने रिपर ६ वटा गरि ५० वटा कृषि औजार विभिन्न सहकारी, फर्म तथा व्यक्तिलाई वितरण गरेको निमित्त प्रमुख चौधरीले जानकारी दिए । प्रदेश मन्त्रालयको कर बाहेक ३५ लाख १७ हजार ३४३ रुपैया अनुदान सहयोगमा उक्त कृषि औजार उपलब्ध गराईएको निमित्त प्रमुख चौधरीले जानकारी दिए ।

आधुनिक प्रविधिको प्रयोगले कृषि उत्पादन बढ्नुका साथै कृषकलाई छिटो र सहज समेत हुने भएकाले कृषकहरु प्रविधि तर्फ आकर्षित हुन थालेको निमित्त प्रमुख चौधरीले बताए ।

अनुदानको सामग्री जिल्ला समन्वय समितिका संयोजक खड्ग प्रसाद दर्लानले कृषकलाई हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया