उदयपुर । उदयपुरमा सोमबार थप ९५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ४६ महिला सहित ९५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

संक्रमित हुनेमा सबैभन्दा बढी बेलका नगरपालिकामा ४० जना रहेका छन् । चौदण्डीगढीमा ३४ जना, त्रियुगा नगरपालिकामा १२ जना र कटारी नगरपालिकामा ७ जना र उदयपुरगढी र ताप्ली गाउँपालिकामा एक÷एक जना थप भएको छ ।

यस्तै २४ महिला र ४१ पुरुष गरी ६५ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ६ सय ८७ महिला र ८ सय ६५ पुरुष गरी १ हजार ५ सय ५२ पुगेको छ ।

अहिलेसम्म सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ६९ पुगेको छ । २ सय २८ महिला र २ सय ४१ पुरुष रहेको छ । उनीहरुको होम आइसोलेशन र अस्पतालमा उपचार भईरहेको छ ।

जिल्लामा कोरोना संक्रमणबाट १६ महिला र ३३ पुरुष गरी ४९ जनाको मृत्यु भएको छ ।

यस्तै उदयपुरमा मंगलबारबाट कोरोना कहर बीच व्यापार व्यवसाय खुला गर्ने निर्णय भएको छ । तर बाहिरी जिल्ला आवतजावत गर्न र सार्वजनिक सवारी साधनमा भने रोक लगाइएको छ ।

शैक्षिक संस्था र यातायातमाथिको रोक असार १४ गते रातिसम्म जारी रहने छ । यस्तै तालिम, गोष्ठी, सेमिनार, जिमखाना, लगायतको मठ मन्दिरमा जमघट हुने कार्यलाई पनि रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले कोरोना संक्रमण फैलन नदिने नीतिलाई कायम राख्दै व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको भने पूर्ण पालना गर्न अनुरोध गरेको छ । स्वास्थ्य मापदण्डविपरीत व्यवसाय सञ्चालन गरेको पाइए कार्वाही गर्ने जानकारी प्रमुख जिल्ला अधिकारी तुलसी राम सेडाईले दिए ।

जारी नयाँ नीति अनुसार स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर सबै प्रकारका पसलहरु बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म खुल्ला गर्न पाइने छ । त्यस्तै, निजी सवारी साधन र सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था पनि सञ्चालन गर्न खुला गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया