उदयपुर । उदयपुरमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना पुरुष रहेका छन् । यो सँगै मृतकको संख्या उदयपुरमा ११ पुगेको छ ।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका १० का ६३ वर्षिय पुरुष रहेका छन् । उनी पाँच दिन अगघि कोरोना संक्रमित भएका थिए । कोरोना संक्रमित भएपछि उनलाई चौदण्डीगढी नगरपालिका ६ सातधारे बेल्टार स्थित उदयपुर कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनलाई अक्सिजन आवश्यक परेकोले अक्सिजन दिइएको थियो र उपचारकै क्रममा आज मृत्यु भएको चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पोखरेलले जानकारी दिए ।

यस्तै चौदण्डीगढी नगरपालिका ५ का ५६ बर्षिय एक पुरुषको पनि उपचारको क्रममा नोवेल हस्पिटल विराटनगरमा आइतबार विहान ५ बजे मृत्यु भएको छ ।

अर्का त्रियुगा नगरपालिका ३ का ४८ वर्षिय एक पुरुषको पनि उपचारको क्रममा वि एण्ड सी अस्पताल विर्तामोड झापामा मृत्यु भएको छ । उनको शनिबार साँझ करिव ७ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

अर्का त्रियुगा नगरपालिका १२ डिएम गेटका ४५ वर्षिय युवकको मृत्यु भएको छ । उनको ग्रिनक्रस हस्पिटल विराटनगरमा शनिबार राति १२ बजे मृत्यु भएको छ । उनको तीन दिन अघि श्वासप्रश्वासमा समस्या भएपछि नोवेल हस्पिटल विराटनगर लगिएको थियो । तर, नोवेल हस्पिटले भर्ना नलिएपछि उनलाई ग्रिनक्रस हस्पिटलमा भर्ना गरिएको थियो । उनलाई त्यही संक्रमण पुष्टी गरेको थियो ।

अहिलेसम्म ३ महिला र ८ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने अहिलेसम्म ३७९ जना कोरोना संक्रमित भएका छन भने १४ जना कोरोनामुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया