उदयपुरमा नेकपाको शक्ति सन्तुलन : ओली पक्ष ज्यादै कमजोर (नामावली सहित)

उदयपुर । उदयपुरका पाँच वटा स्थानीय तहका प्रमुखहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहमा खुलेको पुष्टी भएको छ । जिल्लाका ८ वटा पालिकामध्ये ७ वटा पालिकामा नेकपाबाट निर्वाचिन पालिका प्रमुख छन् । जसमा पाँच वटा नेकपा प्रचण्ड माधव समूहमा देखिएका छन्, भने नेकपा ओली समूहमा दुई पालिका प्रमुख मात्र रहेका छन् । प्रचण्ड माधव समूहमा क्रमशः त्रियुगा नगरपालिकाका प्रमुख बदलदेव चौधरी, उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर राई, रौमातमाई गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्का, ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापा, लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई प्रचण्ड माधव समूहमा रहेको जिल्ला सचिव ईश्वरमणी राउतले जानकारी दिए ।
राउतका अनुसार नेकपा ओली समूहमा कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र बेलका नगरपालिकाका प्रमुख दुर्गा थापा रहेका छन् ।
यस्तै उपाध्यक्षहरुमा उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष सानु कुमारी राउत र ताप्ली गाउँपालिकाका उपाध्यक्ष कमला माया राई प्रचण्ड नेपाल पक्षमा खुलेका छन भने कटारी नगरपालिकाका उपमेयर भिमकुमारी राउत ओली पक्षमा खुलेका छन् । रौतामाई गाउँपालिकाका उपाध्यक्ष कुमारी ज्यू ठकुरी मदन भण्डारी प्रतिष्ठान उदयपुरका सहसचिव भएकाले अहिले प्रचण्ड समूहमा आउने वा ओली समूहमा जाने दुविधामा रहेको छ । यस्तै बेलका नगरपालिकाका उपमेयर राजकुमारी चौधरी पहिले प्रचण्ड नेपाल समूहमा खुलेपनि पछि नेकपा केन्द्रीय सदस्य मन्जुकुमारी चौधरीले च्यापेपछि अहिले कत्तै खुलेको छैन् ।
संसद विघटनपछि दुई समूहमा विभाजन भएकोमा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड÷माधव नेपाल समूह र अर्का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेकपा ओली समूह बनेको छ ।
निर्वाचन आयोगबाट विभाजनको वैधानिकता नपाएकाले मौन बसेका पालिका प्रमुखहरु अहिले प्रचण्ड माधव समूहमा रहेको पुष्टी गरेका छन् । नेकपा उदयपुरका अध्यक्ष विनोद कटुवाल दिवशले पार्टी केन्द्रमा दुई समूहमा विभाजन हुँदा पनि उदयपुरमा बहुमत प्रचण्ड माधव समूहको रहेको बताए ।
‘उदयपुरका आठ वटै स्थानीय तहका वडाध्यक्ष र वडा सदस्यहरु गरी करिव ९० प्रतिशत प्रचण्ड माधव समूहमा छन्,’ उनले भने, ‘पार्टी केन्द्र (प्रचण्ड माधव समूह) बाट आएका आन्दोलनका योजनाहरु कार्यन्यन गर्दै अघि बढेका छौँ ।’ त्रियुगा नगरपालिका प्रमुख चौधरी नेकपा प्रचण्ड माधव समूहका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज समेत हुन् । उनले उदयपुरमा ओली समूहको प्रभाव कमजोर रहेको बताएका छन् ।
यता साविकको नेकपा उदयपुरका ८० प्रतिशत नेकपाका कार्यकर्ता प्रचण्ड माधव समूहमा छन् ।
शनिबार पालिकाका प्रमुखहरुको भेला समेत नेकपा प्रचण्ड माधव समूहले गाईघाटमा गरेको थियो । उक्त भेलामा पार्टीको घोषणा पत्रका आधारमा विकास निर्माणका कामहरुको प्रभावकारीकताको बारेमा छलफल चलेको बताइएको छ ।
यस्तै उदयपुरमा प्रचण्ड नेपाल समूहमा १ सय २४ जिल्ला कमिटी सदस्य रहेका छन भने ३३ जना मात्रै ओली समूहमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया