उदयपुर । केन्द्रका अधिकांश कमिटीमा चरम अल्पमतमा परेर संसद् विघटनको आलोच्य कदम चालेका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष उदयपुरको पार्टी कमिटीमा पनि ज्यादै कमजोर देखिएको छ ।कानुनी रूपमा नेकपा हालसम्म एकै रहे पनि राजनीतिक गतिविधि र व्यवहारिक हिसाबले मुलुकको सबैभन्दा ठूलो दल विभाजित भइसकेको छ । देशैभरी समूहगत भेला र आरोप–प्रत्यारोपको जुहारी चलिरहेको छ । यस्तो बेलामा नेपालको वाम आन्दोलनको उद्गमथलो मध्येको एक उदयपुरमा सांगठनिक शक्ति सन्तुलनमा आफूलाई बलशाली तुल्याउने ध्येयमा दुवै पक्ष लागेका छन् ।

उदयपुरमा केन्द्र देखि प्रदेश, जिल्ला र नगर÷गाउँपालिका कमिटीमा लेखाजोखा गर्दा ओली पक्ष प्रचण्ड नेपाल पक्षको दाजोमा निकै कम्जोर देखिएको छ ।

केन्द्र
संसद विघठन हुनु अघिको दस्तावेज अनुसार उदयपुरबाट नेकपा केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने ४ जनामध्ये ओली पक्षमा एक र प्रचण्ड नेपाल पक्षमा ३ जना रहेको छ । ओली पक्षका केन्द्रीय सदस्यमा मन्जु कुमारी चौधरी रहेका छन ।

प्रचण्ड नेपाल पक्षको केन्द्रीय सदस्य तथा प्रदेश नं. १ का सचिव सुरेशकुमार राई (हिमाल), जगनाथ खतिवडा र बलदेव चौधरी रहेका छन् ।

प्रदेश
नेकपा प्रदेश कमिटीमा उदयपुरबाट १७ जना मध्ये ११ जना प्रचण्ड नेपाल पक्षमा खुलेका छन् । राजकुमार राई, अम्बर बहादुर रायमाझी, मोहन खत्री, भिम अधिकारी (अनिल), राजन किराती, नारायण बुर्जा, मणि खम्बु, भेष कुमारी राउत, निरज पौडेल, काजीमान तामाङ र केपी बराल प्रचण्ड–नेपाल पक्षमा उभिएका छन् ।

ओली समूहमा मणि पौडेल, अम्बिका थापा, बेदप्रसाद पोखरेल, भिमकुमारी राउत, लक्ष्मी नारायण चौधरी र नवराज पोखरेल रहेको स्रोतले जानकारी दिए ।

जिल्ला
पुस १५ गते बसेको प्रचण्ड नेपाल समुह पक्षको जिल्ला कमिटी बैंठकमा १ सय १५ जनाको उपस्थित रहेको थियो । एक दर्जन बढी भौगोलिक कठिनाई र असमय अभावले उपस्थित हुन नसकेको जानकारी गराएको स्रोतले जनाएको छ । त्यसको भोली पल्ट पुस १६ गते बसेको ओली समूहको जिल्ला कमिटी बैंकठमा राम्रो उपस्थित रहेको ओली निकट स्रोतले जनाएको छ ।

उदयपुर जिल्ला कमिटीमा १ सय ६२ जना मध्ये २ जना प्रदेश कमिटी, २ जना कारबाही र एक जनाको मृत्यु भएको छ । हाल बाँकी १ सय ५७ जना मात्रै जिल्ला कमिटी सदस्य रहेको छ । स्रोतका अनुसार ओली पक्षमा ३३ जना रहेको छ । ओली समुहका केही जिल्ला सदस्य प्रचण्ड नेपाल पक्षमा आउने पक्षमा देखिएको स्रोतले जनाएको छ । यस्तै प्रचण्ड नेपाल पक्षमा १ सय २४ जना जिल्ला कमिटी सदस्यहरु खुलेका छन् ।

गाउँपालिका÷नगरपालिका

पार्टी कमिटी प्रत्येक गाउँपालिकामा ७५ र प्रत्येक नगरपालिकामा ८१ सदस्यीय बनाइएको छ । गाउँपालिका र नगरपालिका गरी ८ अध्यक्ष र ८ सचिवमध्ये ओली पक्षमा एक सचिव र ३ अध्यक्ष सहित ४ जना मात्रै रहेका छन् । ओली पक्षका सचिवमा बेलका नगरपालिका सचिव गणेश बस्नेत, चौदण्डीगढी नगरपालिकाका अध्यक्ष राजेन्द्र प्रसाद कटुवाल, उदयपुरगढी गाउँपालिकाका अध्यक्ष गोपाल खत्री र लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष भलराज राई रहेका छन् ।

यस्तै बेलका नगर अध्यक्ष मनोज तामाङ, चौदण्डीगढी नगर सचिव गोविन्द श्रेष्ठ, उदयपुरगढी गाउँ सचिव भुवन केप्छाकी मगर, लिम्चुङबुङ गाउँ सचिव भनक विक प्रचण्ड नेपाल पक्षमा देखिएको छ ।

यस्तै त्रियुगा नगर कमिटी अध्यक्ष प्रकाश कुमार बस्नेत, सचिव गीता खड्का, कटारी नगरपालिका अध्इक्ष मणिराज दाहाल, सचिव मोहन खड्का, ताप्ली गाउँ कमिटी अध्यक्ष ढुंगराज विक र सचिव टोपबहादुर ठकुरी पनि प्रचण्ड नेपाल पक्षमा खुलेका छन् ।

गाउँपालिका र नगरपालिकाका कमिटीहरुका साथै वडा कमिटीहरुमा प्रचण्ड नेपाल समूह ८५ प्रतिशत बढी नेता कार्यकर्ता ओलीको असंवैधानिक कदमको विरुद्धमा रहेको छ ।

तपाईको प्रतिक्रिया